परिचय -
शरीरमा भिटामिन डी र क्याल्सियमको कमीका कारण बच्चाको हड्डीमा देखिने समस्या रिकेट्स हो । रिकेट्स कतिपय अवस्थामा वयस्कमा पनि देखिन सक्छ , जसलाई ओस्टियोमालाशिया भनिन्छ । तर, निकै थोरै मात्रै वयस्क व्यक्तिमा यस्तो समस्या देखिन्छ ।
मानिसको शरीरलाई आवश्यक पर्ने भिटामिन डीको मुख्य स्रोत घाम हो भने ,क्याल्सियम र फोस्फोरसलगायतको परिपूर्ति खानाबाट हुने गर्छ । शरीरमा भएको भिटामिनले खानाको माध्यमबाट क्याल्सियम र फस्फोरसको मात्रा रगत र हड्डीमा पठाउँछ ।
हाम्रो शरीरमा रहेको प्याराथाइराइड ग्रन्थीले क्याल्सियमको अवस्था हेरेफेर गर्ने काम गर्छ, यदि कुनै कारणवश शरीरमा क्याल्सियमको मात्रा कमी भएमा यस ग्रन्थीले हड्डीको क्याल्सियमलाई सोसेर रगतमा क्याल्सियमको परिपूर्ति गर्छ । फलस्वरूप क्याल्सियमको अभाव भएर हड्डी कमजोर हुन्छ, जसलाई रिकेट्स भएको मानिन्छ ।
कसरी थाहा पाउने ?
यो रोग लागेपश्चात् बच्चाहरुको हड्डीमा मात्रै नभई शरीरमा नै समस्या उत्पन्न हुन्छ ।रिकेट्स भइसकेपछि हड्डी कमजोर हुँदै जान्छ । हात र खुट्टाका हड्डीमा दुखाइ उत्पन्न हुन्छ ।
-बालबालिकामा उमेरअनुसार शारीरिक वृद्धिविकास हुँदैन ।
- मांसपेशी कमजोर हुँदै जान्छन् । फलस्वरूप बच्चाको दैनिक क्रियाकलापमा बाधा पर्न थाल्छ ।
-बिस्तारै हातखुट्टाका हड्डीमा दुखाइ तथा बांगोटिगो हुने समस्या आउँछ ।
- रगत , एक्सरे तथा शारीरिक परीक्षणबाट रिकेट्स भए नभएको थाहा पाउन सकिन्छ ।
कारणहरु
-खानामा पोषण तत्वको कमी हुनु ।
-बच्चाहरुलाई घामको कमी हुँदा पनि यो रोग लाग्न सक्छ ।
-वंशाणुगत गुण पनि रिकेट्सको कारण बन्न सक्छ ।
रोकथाम
-बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । त्यसपश्चात् पौष्टिक खानेकुरा, जस्तैः दूध तथा दूधजन्य खानेकुरा, माछा, मासु, अन्डा, अन्न, गेडागुडी, फलफूल र सागपात प्रशस्त खुवाउनुपर्छ ।
- दैनिक आधादेखी एक घन्टा दिनको घाममा बस्ने ।
- हड्डी कमजोर भएमा वा बांगोटिगो भएमा, दाँत समयमा नआएमा वा अन्य समस्या देखापरेमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।
-सुरुको अवस्थामा भिटामिन डी, क्याल्सियम र फस्फोरसको सप्लिमेन्ट दिएर परिपूति गर्न सकिन्छ । तर, हड्डी बांगो नै भइसकेको अवस्थामा भने शल्यक्रिया गर्नुपर्ने हुन्छ ।