तनहुँ । तनहुँको दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन् ।
अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म तलब-भत्ता पाउन नसकेका हुन् ।
तलब–भत्ता नपाएको विषयमा चिकित्सकले यसअगाडि पनि पटक–पटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि तलबभत्ता भुक्तानी भएको छैन ।
नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाइ पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलबभत्ता भुक्तानी हुन् नसकेको र दमौली अस्पताल व्यवस्थापन समितिको आन्तरिक कोषबाट पनि तलब खुवाउन नसकेको हुँदा दैनिक कार्य गर्न कठिनाइ भएको चिकित्सकले जनाएका छन् ।
चिकित्सकले आज स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र पठाइ तलब–भत्ताको आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् । अस्पतालमा कार्यरत राजु रानामगर, आस्था रेग्मी, सिञ्चन पाण्डे, पूजा सैजु, कृष्ण गिरी, सञ्जीव भण्डारी, सुनयन सुवेदी, सुशील विक, प्रशन्न कार्की, सिर्जना आले (नर्सिङ अधिकृत), सम्झना श्रेष्ठ (नर्सिङ अधिकृत), सुप्रिया श्रेष्ठ र अभिनन्दन तिवारीले सामूहिक रूपमा स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र बुझाएका छन् ।