काठमाडौं । सरकारले आगामी चैत्र २५ गतेदेखी वैशाख १८ गतेसम्म करिब ७५ लाख बालबालिकालाई टाइफाइडको खोप दिने अभियान सञ्चालन गर्न लागेको छ ।
२४ दिने उक्त खोप अभियानमा १५ महिनादेखी १५ वर्ष भन्दा मुनिका बालबालिकालाई समेटिने बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मंगलबार आयोजित पत्रकार अन्र्तक्रिया कार्यक्रममा बताए । आगामी दिनमा नियमित खोप कार्यक्रममा टाइफाइडको खोपलाई पनि समावेश गरिने दाहालले बताए । बाल मृत्युदर घटाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको खोप कार्यक्रमको औपचारिक सुरुवात नेपाल सरकारले विं सं २०३४ सालदेखी गरेको थियो ।
२००२ देखी २०२२ सम्म आइपुग्दा नेपाल सरकारले विभिन्न १३ प्रकारका खोपहरु निशुल्क रुपमा दिदैं आइरहेको छ । संसारमा हरेक वर्ष करिब २ करोड मानिसहरु टाइफाइड संक्रमित हुन पुगेको तथ्यांक सार्वजनिक भएको छ । तीमध्ये १ लाख ६१ हजारको ज्यान जाने गरेको छ ।
नेपालको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार प्रति १ लाख जनसंख्यामा १,०६२ मा टाइफाइडको संक्रमण हुने गरेको छ । त्यसमध्ये ० –४ उमेर समुहमा ७,६४,त्यस्तै ५– ९ उमेरका ६,७१३ तथा १०–१४ वर्ष उमेर समूहका ३,७५० बालबालिकामा टाइफाइडको संक्रमण हुने गरेको छ ।
अभियानको क्रममा टाइफाइड खोप स्थानिय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ।
टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो।
विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ। यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो ।