ललितपुर । ललितपुर जिल्लामा १५ महिनादेखि १५ वर्ष सम्मका सबै बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाल देशभर संचालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत ललितपुरका ६ वटै स्थानीय तहमा पनि संचालन हुन लागेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतीश विष्टले अनुसार यही चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म ललितपुर जिल्लामा खोप कार्यक्रम सन्चालन हुने बताए । उनले भने, ‘पहिलो पटक अभियानको रुपमा बालबालिकालाई यो खोप लगाउन लागिएको हो, वैशाख १८ गतेपछि भने यो खोप नियमित खोपमा नै समेट्ने छौँ ।’
अभियान संचालनका लागि जिल्लाका २४० जना स्वास्थ्यकर्मीलाई तालिम दिईसकिएको छ । नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको लागत प्रभावकारी र जनस्वास्थ्यको सफल कार्यक्रम अन्तर्गत नेपालमा खोपबाट बचाउन सकिने रोगहरुलाई शुन्य अवस्थामा पुर्याउने र राष्ट्रिय खोप कार्यक्रम माफत तोकिएका सबै खोपहरु समतामूलक रुपा सबैको पहुँचमा पुग्ने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरीय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्ने उद्देश्य अनुरुप उक्त खोप कार्यक्रम सन्चालन हुन लागेको हो ।
ललितपुर जिल्लामा खोप कार्यक्रममा १५ सय स्वयंमसेविका परिचालन गरिने छ । स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तालिका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म, कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ । एक मात्रा मात्रै लगाए पुग्ने यो खोप अभियानका लागि स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयमा खोप केन्द्र राखिने र विद्यालय नजाने बालबालिकाहरूका लागि भने आवश्यकताअनुसार वडाहरूमा बाह्य खोप केन्द्र सञ्चालन गरिने विष्टले बताए ।
स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार जिल्लाका सबैजसो स्वास्थ्य संस्था र स्थानीयलाई पायक पर्ने स्थानमा खोप केन्द्र सञ्चालन गरिनेछ । वैशाख १८ गतेपछि भने रुबेला दादुराको खोपजस्तै यो खोपलाई पनि बालबालिकालाई लगाइँदै आएका नियमित खोपमा समेटिने उनको भनाई छ ।
टाइफाइड खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा विमिराहरू आउने, हात खुट्टा दुख्ने, जोर्नी दुख्न, वाकवाकी लाग्ने, वान्ता हुने, एनाफाइल्याक्सिस् प्रतिक्रिया असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् । खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ । गर्भवति महिला, स्तनपान गराई रहेका महिलाले यो खोप लिन हुँदैन ।
टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।