धरान । सुनसरीकाे धरानमा रहेकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे इमरजेन्सीमा नयाँ उपकरणसँगै बेड थप गरिएकाे छ । वीपी प्रतिष्ठानले इमर्जेन्सी वार्डमा नयाँ मेडिकल उपकरण र बेड संख्या थप गरेर स्तरोन्नति गरेको हाे ।
१ नं. प्रदेश तथा छिमेकी मुलुक भारतका सिमावर्ती क्षेत्रका अस्पतालहरूकाे रेफरल सेन्टर समेत रहेकाे प्रतिष्ठानकाे इमर्जेन्सीमा सेवा र उपकरण थप गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
इमर्जेन्सीमा आउने विरामीहरुलाई सुलभ र प्रभावकारी ढंगले उपचार सुविधा उपलब्ध गराउन २० थान बेड र १५ थान ट्रली थप गरिएकाे प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जनाएका छन् ।
यसका अलावा इमर्जेन्सी भित्रका आवश्यक स्थानहरुमा अक्सिजन लेभल, इसिजि, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटर गर्ने १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ। उल्लेखित मेशिनको जडानले विरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी विरामीको गुणस्तरीय उपचार गर्न थप सहयोग मिल्ने सह–प्रवक्ता डा.पोखरेलको भनाई छ।
प्रतिष्ठानले सिकिस्त विरामीहरुका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटरलगायत उपकरणहरु पनि थप गरिएको छ । साथै, इमर्जेन्सी क्रास कार्ट पनि थप गरिएको प्रतिष्ठानले जनाएकाे छ। सिकिस्त भएपनि भेन्टिलेटरको आवश्यकता नपर्ने विरामीहरुका लागि एचडियु (हाई डिपेडेन्सी युनिट) बेडहरु पनि चाँडै जडान गरिने सहप्रवक्ता डा.पोखरेलले जारी विज्ञप्तिमा भनिएकाे छ ।
इमर्जेन्सी ल्याबबाट दिईने सेवाहरुलाई चुस्त दुरूस्त उपलब्ध गराउने व्यवस्था गरिएको छ । इमर्जेन्सीमा आउने विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरु इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था गरिएकाे छ ।
यस्तै, इमर्जेन्सीका विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण औषधिहरु पनि प्रतिष्ठानकै फार्मेसीबाट सहजै उपलब्ध हुने व्यवस्था गरिएको सहप्रवक्ता डा.पोखरेलले बताएका छन् । पछिल्लाे समय प्रतिष्ठानकाे स्वास्थ्य सेवा सुधार्न प्रतिष्ठानकाे ब्यवस्थापन पक्ष लागेकाे छ ।