काठमाडौं । नेपाल औषधि उत्पादक संघले प्रत्येक दुई वर्षमा फर्मा एक्स्पो गर्दै आइरहेको छ। कोभिडका कारण डेढ वर्ष पछाडी धकेलिएको फर्मा एक्स्पो आगामी वैशाख ९, १० र ११ गते चितवनको भरतपुरमा रहेको चितवन एक्स्पो सेन्टरमा औषधि उत्पादक संघको आयोजनामा फर्मा एक्स्पो हुन लागेको छ।
उक्त एक्स्पो नेपाली औषधि उद्योगहरुले उत्पादन गर्ने ल्याबका सामग्रीहरु,कच्चा पदार्थहरु, प्रविधीहरु तथा औषधि उत्पादनका लागि आवश्यक सम्पूर्ण पदार्थहरुको प्रदर्शनी हो ।
औषधि उत्पादनसँग समावेश हुने गरेका डाक्टर,नर्स पारामेडिक्स लगायतको उपस्थितीमा नेपाली औषधि कम्पनीहरुले उत्पादन पनि अन्र्तराष्टियस्तरको छ भन्ने देखाउनका लागि नेपाल औषधि उत्पादक संघले प्रत्येक २-२ वर्षमा फर्मा एक्स्पोको आयोजना गर्दे आएको छ ।
चितवन एक्स्पो सेन्टरमा रहेका १६१ वटा नै स्टलहरु प्याक भइसकेको अवस्था छ । जसमा २५–३० स्वदेशी औषधि उत्पादक कम्पनीको तथा अन्य विदेशी कम्पनीको गरी १६१ वटा स्टलहरु प्याक भएको हो ।
फर्मा एक्स्पोको समयमा विभिन्न प्रकारका तालिम तथा सेमिनार समेत हुने गर्छन् । यस अवधिमा अस्पतालमा चिकित्सक,नर्स,तथा व्यवस्थापनको क्षेत्रमा रहेर काम गर्नेहरुका लागि विभिन्न प्रकारको तालिमको व्यवस्था गरिएको छ । भौतिक उपस्थितीमा हुने काम बाहेक सबै काम पुरा भइसकेको छ ।
विशेषगरी चिकित्सक,पारामेडिक्स तथा औषधि व्यवसायसँग सम्बन्धित व्यक्तिहरु यस एक्स्पोमा सहभागी हुने भएपनि अवलोकनका लागि भने सर्वसाधारणहरुसमेत सहभागी हुन पाउनेछन् । साथै फर्मा एक्स्पो के हो? किन गरिन्छ ? भन्नेबारे आम मानिसहरुलाई जानकारी गराउने मुख्य लक्ष्यका साथ आमसञ्चार माध्यमहरुको सहभागिता पनि महत्वपूर्ण मानिन्छ।
हामीले सर्वसाधरणले पनि अवलोकन गर्न आह्वान गरेका छौं । तर, कुन व्यक्तिलाई कतिको महत्त्वको विषय हो भन्ने कुरामा भर पर्छ । त्यसैले सर्वसाधारणलाई जानकारी दिनका लागि हामीले सञ्चार माध्यमहरूबाट विभिन्न जानकारी दिने प्रयत्न गरिरहेका छौं ।
नेपालमा पछिल्लो समय औषधि उत्पादन गर्ने कम्पनीहरूको सङ्ख्या बढ्दो छ । ती कम्पनीहरूले कस्ता खालका औषधिहरू उत्पादन गरिरहेका छन् त्यो कुरा निकै महत्त्वपूर्ण हो । औषधि उत्पादन गरिरहेका कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका औषधि उत्पादन गरिरहेका छन् कि छैनन् भन्ने कुरा देखाउनका लागि एक्स्पो आवश्यक छ ।
कतिपय कुरा भनेर भन्दा पनि देखाउँदा अझै राम्रो हुन्छ । त्यसैले औषधि लेख्नेहरूदेखि खानेहरू सम्मलाई जानकारी दिनका लागि हामीले फर्मा एक्स्पो गर्दै आइरहेका छौं । विशेषगरी नेपाली औषधि उत्पादकहरूले कस्ता खालका प्रविधिहरू प्रयोग गरी औषधि उत्पादन गर्छन् भन्ने कुरा जानकारी दिनका लागि नेपालमा फर्मा एक्स्पो आवश्यक छ।
समयको अन्तररालमा औषधि उत्पादन क्षेत्रमा कस्ता खालका प्रविधिहरू आएका छन्। त्यस्ता प्रविधिहरू को प्रयोग कसरी भइरहेको छ भन्ने कुरा देखाउँछौं। पहिलो एक्स्पोमा देखाएको औषधि उत्पादन गर्दा प्रयोग हुने प्रविधि र अहिले ८ औं संस्करणसम्म आइपुग्दा आएका प्रविधिहरूमा निकै फरक छ।
औषधि उत्पादनमा प्रयोग हुने प्रविधिहरू पनि परिवर्तन भएका छन् है भन्ने कुरा जानकारी गराउनका लागि पनि हामीले एक्स्पोमा प्रविधिहरूलाई नै प्राथमिकतामा राखेका छौं।
विदेशी कम्पनीले उत्पादन गरेका औषधि मात्रै गुणस्तरीय हुन्छ भन्ने आम धारणा छ। विदेशी उत्पादन मात्र नभई स्वदेशी उत्पादन पनि अब्बल छ भनी देखाउनु पनि यस एक्स्पोको लक्ष्य हो।