-प्रशंसा बुढा
काठमाडौं- मेरो आमा घरमा नै प्रसुती हुदाँँ रगत धेरै बगेर मृत्यु भयो त्यसबेला नै मैले सोचेको थिए कि म मिडवाइफ बन्छु । मेरो आमाले जुन सेवा नपाएर ज्यान गुमानुभयो अरु आमाको त्यो अवस्था नहोस् भन्ने चाहान्छु । त्यसैले मैले मेरो भविष्य मिडवाइफमा नै देखेको छु । मलाई गर्भवती महिलाहरुसँग एकदमै नजिक भएर काम गर्न इच्छा छ । मेरो अन्तिम साससम्म म मिडवाइफ नै भएर बाच्न चाहान्छु ।
आमाले अर्को सन्तान जन्माउँदा बच्चा राम्रो थियो तर आमाको योनिबाट एकदमै रगत बगेको थियो । घरमा कोहि पनि महिला थिएनन् । बुबा मात्र हुनुहुन्थ्यो । बुबा अत्तालिनुभयो र घर नजिकै हेल्थ पोष्ट थियो, त्यस हेल्थ पोष्टमा अहेव बस्नुहुन्थ्यो । बाबाले मलाई अहेव अंकललाई बोलाएर ल्याउ भन्नुभयो म त्यहाँ पुग्दा अहेव अंकल हुनुहुन्न थियो ।
आमाको योनिबाट अत्याधिक रगत बगेको झन्डै चार घण्टापछि अहेव अंकल आइपुग्नुभयो । मलाई याद छ अझै पनि त्यो दृश्य अहेव अंकलले थर्मोमिटर लिएर आउनुभएको थियो । उहाँले आएर परिक्षण गर्दा आमा बाबाको काखमा ढलिरहनुभएको थियो तर आमाको होस् थिएन् ।
मेरो घर हुम्लाको दुर्गम ठाउँमा पर्छ । त्यहाँ व्यवस्थित हेल्थ पोष्ट र मिडवाइफ भएको भए सायद मेरो आमाले ज्यान गुमाउनुपर्दैनथ्यो र म ७ बर्षमा नै आमाबिहिन हुदैन थिए होला । त्यसैल आज म पेसागत मिडवाइफ बनेको छु ।
हाम्रो गाँउमा हुने मातृ तथा शिशु मृत्युमा कमी ल्याउँन मिडवाइफ बन्ने चाह थियो । महिलाको स्वास्थ्य स्तर उकास्नको लागी मिडवाइफ पढें । मिडवाइफको मिनिङ भन्नुपर्दा मिड भनेको विथ र वाइफ भनेको महिला हो । यो मिनिङले महिलालाई सम्मानसाथ सेवा दिने भन्ने बुझाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को अनुसार प्रतिलाख जिवित जन्ममा २३९ मातृ–मृत्यु भएको पाईएको छ । यो मृत्युदरमा कमि ल्याउनका लागी मिडवाइफको महत्वपुर्ण भुमिका रहनेछ ।
नेपालमा कोहि पनि मिडवाइफ थिएनन् । नर्सहरुले नै मिडवाइफको काम गरिरहेका छन् । पेसागत मिडवाइफ (प्रसाविका) को स्नातक तहको पहिलो ब्याचबाट हामि ९ जना पास आउट भएका छौं ।
पहिलो ब्याच हुदाँ अवसरका साथै चुनौति पनि उत्तिकै थियो । वीर अस्पताल नर्सिङ क्याम्पस (न्याम्स) बाट अध्ययन गरेका हौ । हामिहरुलाई अध्ययन गराउने प्रशिक्षकहरु क्वालिफइड हुनुहुन्थ्यो । तर प्राक्टिकलका लागी अस्पताल जादाँ सुरुमा चिकित्साशास्त्रको अन्य विधा अध्ययन गरेका चिकित्सकहरुलाई मिडवाइफको उत्तरदायित्व र उनिहरुले दिनुपर्ने सेवा बुझाउँन गाह्रो भएको थियो ।
हामिले बिरामीसँग एकदमै नजिक भएर सेवा दिदाँ हासेर खिल्लि उडाउने गर्थे । उनिहरु पेसेन्टलाई पेसेन्टकै व्यवहार गनुपर्छ भन्ने तर्क राख्थे । सुरुमा सर्पोट नपाएपनि केहि समय पछि बिरामी र अन्य चिकित्सकहरुको मन जित्न सफल भयौं ।
यसअघि नेपालमा स्टाफ नर्सले नै प्रसूति सेवा दिँदै आएको हुनाले मिडवाइफको सरकारी दरबन्दी वा परिचालन गर्नेसम्बन्धी कुनै नीतिगत व्यवस्था छैन। त्यसैले हामिलाई सरकारले कुन अस्पतालमा पठाउने निधो भइसकेको छैन । तर हामि विश्वस्त छौं कि हामिलाई सरकारले काममा लगाउनेछ ।
सरकारले कार्यनीति राम्रो बनाए हामि जहाँ गएर पनि काम गर्न तयार छौं । हाम्रो जिम्मेवारी भनेको महिलाको सुरक्षा हो त्यसभन्दा अघि सरकारले हाम्रो सुरक्षा सुनिश्चित गनुपर्छ ।