काठमाडौं । नेपाल मेडिकल कलेजमा मेडिसिन विभाग अन्तरगत तीन युनिट सञ्चालनमा आएको छ। कलेजले कार्डियोलोजी, ग्याष्ट्रोलोजी तथा इण्डोक्रोनोलोजी युनिट तयार गरी सञ्चालनमा ल्याएको हो। विगतमा यी तीनै युनिट मेडिसिन विभाग अन्तरगत पर्दथे।
विरामीलाई सहज उपचारको व्यवस्थापन गर्न छुट्टाछुट्टै युनिट तयार पारेर उपचार सेवा थालिएको अस्पताल प्रशासनले जनाएको छ। शुक्रबार तीनै युनिटको औपचारिक रुपमा सुरुवात गर्दै कलेजका म्यानेजिङ डाइरेक्टर बसुरुद्धिन अन्सारीले नेपाल मेडिकल कलेजलाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न विभिन्न रोगसँग सम्बन्धीत युनिटहरु बनाइएको बताए ।
‘यहाँको स्वास्थ्य सेवालाई समयसापेक्ष सुधार गर्दै विशेषज्ञ सेवाहरु थप गर्न हरेक वार्डहरुमा छुट्टाछुट्टै युनिट बनाउने योजना छ । अहिले कार्डियोलोजी, ग्योष्ट्रोलोजी र इण्डोक्रोनोलोजी युनिट तयार गरिएको हो।’ अन्सारीले भने।
उल्लेखित हरेक युनिटमा १२र१२ वेड रहेका छन्। युनिटमा विशेषज्ञ डाक्टर तथा नर्सको व्यवस्थापन गरिएको कलेजका अस्पताल प्रमुख दिलिप साहले बताए । उनका अनुसार यसअघि अस्पतालमा विशेषज्ञ युनिट रहेको थिएन। कार्डियोलोजीलाई व्यवस्थित र विरामीमैत्री बनाइएको छ । युनिटमा इको, इसिजी, हल्टर तथा एविपी सेवाहरु व्यवस्थापन गरिएको छ । भविष्यमा क्याथल्याव सेवा समेत सूचारु गरेर नेपाल मेडिकल कलेजलाई विशेषज्ञ स्वास्थ्य संस्थाका रुपमा सञ्चालन गर्ने योजना बनाइएको छ।
कलेजका अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठाका अनुसार कार्डियोलोजी विभागमा बंगलादेशबाट एमडी गरेर आएकी डा.सञ्जीता अन्सारी तथा डा.सिर्जना प्रधानाङ्ग लगायत विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गरिएको छ।
यसैगरी ग्याष्ट्रोलोजीमा डा. सुनिल मरिक, डा. अवसेस भण्डारी लगायतको टीम रहेको छ। इण्डोक्रोनोलोजीमा डा.प्रविण अधिकारी लगायतको टीम रहेको अस्पताल निर्देशक मरहठ्ठाले जानकारी दिए । डा. मरहठ्ठा त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर हुन् ।