एजेन्सी । अस्वस्थ जीवनशैली र खराब खानपानका कारण लाखौँ मानिस विभिन्न रोगबाट पीडित हुन थालेका छन् ।
शरीरमा भएको सामान्यदेखि गम्भीर रोगका कारण मानिसमा विभिन्न लक्षण देखिने हुन्छ । शरीरले देखाएका केही लक्षणले स्वास्थ्य खराब भएको र तुरुन्त ध्यान दिनुपर्नेतर्फ सङ्केत गर्छ । यस्ता छन् शरीर अस्वस्थ भए देखिने केही लक्षण :
अचानक तौल कम हुनु : कुनै पनि व्यायाम, डाइट नगरी शरीरको तौल अचानक कम हुनु सामान्यदेखि गम्भीर रोगको सङ्केत हुनसक्छ । तौल घट्नुको कारण पेट, अन्ननली, प्यानक्रिया वा फोक्सोको क्यान्सर हुन सक्छ ।
दाँतमा क्षति : युनिभर्सिटी अफ नर्थ क्यारोलिना स्कुलका पेट रोग विशेषज्ञ इभान डेलोनका अनुसार बारम्बार दाँत झर्ने समस्या भएका मानिसले एसिड रिफ्लक्सको गुनासो गर्न सक्छन् । एसिडका कारण छिट्टै दाँत झर्न थाल्छ ।
छाला सफा नहुनु : छालामा दाग हुनु वा छाला फोहोर हुनु पनि गम्भीर स्वास्थ्यको सङ्केत हुन सक्छ । पिम्पल्सको समस्या भएमा, छाला चिलाउने समस्या छ भने यो शरीरमा केही गम्भीर रोगहरूको सङ्केत पनि हुनसक्छ । अस्वस्थकर जीवनशैली, निद्रामा समस्या, खराब खानपानका कारण निधारमा पिमपल्स आउँछ । त्यस्तै, निधारभन्दा केही तल पिम्पल्स आएमा यो पेटसँग सम्बन्धित समस्याले गर्दा भएको हुनसक्छ ।
ग्यासको समस्या हुने : पेटमा बारम्बार ग्यास बनिरहेको छ भने यो पाचन प्रक्रिया ठीक नहुनुको सङ्केत हो । पटकपटक ग्यास बन्नु विभिन्न पेटसम्बन्धी रोगको लक्षण पनि हुनसक्छ ।
सधैँ थकान महसुस भएमा : शरीर सधैँ थकित महसुस भएमा यसले शरीरमा गम्भीर समस्या निम्त्याउन सक्छ । क्याफिनको बढी सेवन गर्ने तथा अस्वस्थकर जीवनशैली अपनाउने मानिस सधैँ थकित रहन्छ । तर बिनाकारण सधैँ थकित महसुस हुन्छ भने यो शरीरमा भएको गम्भीर रोगको लक्षण हुनसक्ने हुँदा विशेषज्ञसँग परामर्श लिन सुझाइन्छ।
नङको रङमा परिवर्तन : हात र खुट्टाको नङको आकार, बनावट र रङ सामान्य नभएमा शरीर स्वस्थ छैन भनेर बुझिन्छ । केही नेलपोलिस र धुम्रपानले पनि नङ पहेँलो हुन सक्छ । तर नङको रङ पहेँलो हुनु खराब रक्तसञ्चार र शरीरमा तरल पदार्थको कमीको कारण भएको मानिन्छ ।
आँखा सेतो नहुनु : विज्ञहरूका अनुसार स्वस्थ मानिसको आँखा सेतो हुन्छ । तर आँखा पहेलो भएमा यसले पित्तथैली, कलेजो, प्यानक्रियाज वा पित्त नलीको समस्याको सङ्केत हुन सक्छ । त्यस्तै आँखा रातो हुनाले पनि विभिन्न आँखासम्बन्धी समस्याको सङ्केत गर्छ ।
सुत्दा घुर्ने समस्या भएमा : सुत्दा घुर्ने समस्या भएका मानिसले पनि विभिन्न रोगको सङ्केत देखाएको हुनसक्छ । सुत्दा घुर्ने समस्या स्लिप एपनिया, मोटोपना, हृदय रोग, ग्यास्ट्रोएसोफेगल रिफ्लक्स रोग, स्ट्रोकलगायत विभिन्न गम्भीर स्वास्थ्य समस्यासँग सम्बन्धित छ ।