काठमाडौं । ब्रेन भनेको मानव मस्तिष्क हो । ट्युमर भनेको मानव शरिरको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो ।
सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो ।
ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ । विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् ।
कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ । सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ ।
यसका मुख्य लक्षण
टाउको दुख्नुः सामान्यतः टाउको दुख्नु ब्रेन ट्युमरको सुरुवाती संकेत मान्ने गरिन्छ। तर यसो नभई ब्रेन ट्युमरको विकसित रुप हुँदा टाउको दुख्ने समस्या हुन्छ।
अचानक झड्का लागेजस्तो हुनुः हिँड्ने क्रममा अचानक झड्का लाग्नु पनि ब्रेन ट्युमरको सुरुवाती लक्षण हुनसक्छ। मस्तिष्कमा रहेको ट्युमरका कारण न्युरोन्स अनियन्त्रित हुन्छन्। जसका कारण मानिसको हलचल असामान्य हुन सक्छ। यो स्थितिमा पुरै शरीरका साथ कुनै एक अंगमा अचानक झड्का लागेको महसुस हुन सक्छ।
अचानक सन्तुलन बिग्रनुः सही रुपले उठ्न नसक्नु, सिढीमा ठीकसँग हिँड्न नसक्नु, सन्तुलन बिग्रनुजस्ता कुराहरु खतराका सूचक हुनसक्छन्। बोल्नु, निल्नु या अनुहारको भाव नियन्त्रण गर्न नसक्नु पनि ट्युमरको सूचक हुनसक्छ।
शरीरको कुनै अंगमा झन्झनाहट उत्पन्न हुनुः यदि शरीरको कुनै अंगले कुनै पनि कुराको महसुस गर्दैन भने ध्यान दिनुपर्छ। जब ट्युमर ब्रेन स्टेममा हुन्छ भने समस्या उत्पन्न भएको मानिन्छ।
स्मरणशक्ति कमजोर हुनुः ट्युमरका कारण व्यक्तिको स्वभाव र व्यक्तिमा परिवर्तन आउँछ। ब्रेन ट्युमर भएका व्यक्ति हरेक कुराहरु बिर्सन थाल्छन्, अन्योलमा रहन्छन् र उनीहरुलाई सानातिना कुरामा पनि समस्याग्रस्त भएकाजस्ता देखिन्छन्।
वान्ता आउनेः यदि पेट खराबजस्तो भएर वान्ता आउने गरेको छ भने ब्रेन ट्युमरको संकेत हुनसक्छ। खासगरी लगातार वान्ता आइरहेको छ र त्यसको खास कारण थाहा छैन भने खराब संकेत हुनसक्छ, तत्काल चिकित्सकको सहायता लिनुपर्छ।
आँखा धमिलो हुनुः धमिलो देख्नु, डबल देख्नु र आँखाको ज्योति जानु पनि ट्युमरको लक्षण हुनसक्छ।