एजेन्सी । गर्मी मौसमको सुरुवातसँगै खानेकुरामा बढी नै होसियार हुनुपर्ने हुन्छ । गर्मीमा मानिसको पाचन प्रक्रिया कमजोर हुने भएकोले यस समयमा खानेकुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । गर्मीको समयमा हलुका तथा पचाउन सजिलो हुने खानेकुरा खानुपर्ने हुन्छ ।
गर्मीमा अमिलो, नुनिलो र तीखो खानेकुरा बढी खान हुँदैन । यसले पित्तदोष अर्थात् शरीरमा ताप बढाउँछ । प्राकृतिक रूपमा गुलियो भएका फल र नटुक्य्राइएका अनाज खानुपर्छ ।आँपले वात, पित्त र कफ तीनैलाई सन्तुलनमा राख्छ । पाकेको आँपले ऊर्जा बढाउँछ भने काँचो आँपमा अमिलो तथा शीतल बनाउने तत्त्व हुन्छन् ।
स्याउको स्वाद गुलियो हुन्छ र यसले पनि शरीरलाई ठण्डा राख्न मद्दत गर्छ । शारीरिक प्रणालीलाई चिसो बनाउन यो उपयोगी छ । नास्पातीले पित्त दोष र अम्लपन घटाउँछ किनकि यो शीत प्रकृतिको हुन्छ ।
तरबुजामा पानीको मात्रा भरपूर हुन्छ र यसले शरीरलाई चिसो बनाउँछ अनि शरीरबाट विषाक्त तत्त्व बाहिर निकाल्छ । आरुले शरीरको अग्निमा सुधार ल्याई भोक बढाउँछ र पाचन पनि दह्रो बनाउँछ ।
अमलाको रस भिटामिन सीको राम्रो स्रोत हो र यसले पित्तलाई सन्तुलनमा राख्छ । यो एन्टीअक्सिडेन्ट पनि हो र गर्मीमा यो महत्त्वपूर्ण पेय पदार्थ हो।
कागतीको रसले शरीरमा पानीको मात्रा कायम राख्न मद्दत गर्छ । नीमको रस तीतो हुन्छ र यसले गर्मीमा छालाको संक्रमण घटाउन मद्दत गर्छ । बुर्काउली, फर्सी, हरियो सागपात, लौका पनि गर्मीमा स्वस्थ राख्न मद्दत गर्ने खानेकुरा हुन् ।