काठमाडौं । मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाई ‘मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ।
‘सिस्टोलिक’ र ‘डायस्टोलिक’ दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२० / ८० भन्दा कम हुनपर्छ । उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई बुझिन्छ ।
रक्तचाप समय समयमा नापिरहनु पर्छ । रक्तचाप बढाउने विभिन्न कारणहरु हुन्छन् । तिमध्ये केहि कारणहरु यस प्रकार रहेका छन् ।
धुम्रपान सेवन
मोटोपना
शारीरिक गतिविधिमा कमी
मद्यपान सेवन
मानसिक तनाव
नुनिलो खानेकुरा
रक्तचाप घटाउने उपाय
पुर्ण रुपमा धुम्रपान सेवन बन्द गर्ने
मोटोपना कम गर्ने, बजन नियन्त्रणमा राख्ने
प्रत्येक दिन १ देखि २ घण्टा हिड्ने
अत्याधिक मद्यपान सेवन नगर्ने
मानसिक तनाव नलिने
नुनिलो खानेकुरा कम खाने
रक्तचाप नाप्दा के गर्ने ?
कम्तिामा ५ मिनेट बिश्राम गरेपछि मात्र रक्तचाप नाप्नु पर्छ ।
रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाईमा राख्नुपर्छ ।
हातलाई टेबुलमा राख्नुपर्छ ।
पहिलो पटक दुबै हातमा र त्यसपछि रक्तचाप बढि भएको हातमा नाप्ने गर्नुपर्छ ।
कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।
रक्तचाप नाप्दा के नगर्ने ?
बिरामी र चिकित्सक दुवैले रक्तचाप नाप्ने बेलामा बोल्नु हुदैँन ।
रक्तचाप नाप्नु भन्दा कम्तिमा ३० मिनेट पहिला देखि खाना, चिया, सुर्ति आदि खाएको हुनु हुँदैन ।
खुट्टा एक अर्का माथि क्रस गरेर राख्नु हुँदैन ।
कपडाको माथिबाट रक्तचाप नाप्नु हुँदैन र कपडाको बाहुला तानेर माथि ल्याउनु हुदैँन ।
हिडडुल र व्यायम गर्ने बित्तिकै रक्तचाप नाप्नु हुँदैन ।