काठमाडौं । छालाको हेरचाहका लागि गरिने कतिपय स्याहार मौसम अनुसार फरक पर्दैन । तर गर्मी समयमा भने छालाको विशेष हेरचाह गर्नुपर्ने हुन्छ ।
यस समयमा छालामा चिल्लोपना बढ्ने गर्छ । चिल्लो छाला हुनेहरुमा गर्मी समयमा सुख्खा छाला हुनेहरुमा भन्दा बढी समस्या देखिन सक्छ । गर्मी मौसममा हावा बढी चल्ने भएकोले सुख्खा छालामा पनि समस्या भने नआउने होइन ।छालामा बढ्ने चिल्लोपनाका कारण चिसो मौसममा भन्दा गर्मी डन्डीफोरको समस्या बढी आउने गर्छ ।
त्यसैले गर्मीको समयमा अनुहारमा चिल्लोपना बढ्न दिनु हुँदैंन । अनुहारमा चिल्लोपना बढ्न नदिनका लागि सम्भव भएसम्म बेलाबेला सफा पानीले अनुहारलाई पखाल्नुपर्ने हुन्छ । यदि अनुहार पखाल्न सम्भव हुँदैन भने बेला बेला पुस्नुपर्ने हुन्छ । हाम्रो हावापानीमा कुनै पनि सन् क्रिमले ३ देखी ४ घन्टामात्रै काम गर्ने भएकोले प्रत्येक ३ देखी ४ घन्टामा सन्स् क्रिम फेरिरहनुपर्ने हुन्छ ।
अनुहारको छाला राम्रो बनाउन कस्ता खानेकुरा खाने ?
छालालाई राम्रो बनाउनका लागि सर्वप्रथम त प्रशस्त मात्रामा पानी पिउनुपर्ने हुन्छ । प्रशस्त मात्रामा फलफुलको खानाले छालाको सौन्दर्यतालाई कायम राख्न सक्छ । किबी,स्टबेरी, नेपालमा पाइने किम्बु, कालो किम्बु लगायतका फलफुलको सेवन छालाका लागि राम्रो मानिन्छ ।
चिल्लो अनुहार हुनेहरुका लागि गुलियो खानेकुराको सेवन राम्रो मानिदैंन । साथै धेरै चिल्लो खानेकुराको सेवन पनि छालाको लागि हितकर हुँदैन । शरीरको जुनसुकै अंग जस्तै छाला, कपाल राम्रो हुनका लागि सन्तुलित भोजन खानुपर्ने हुन्छ । त्यस्तै बढी मात्रामा पिरो तथा तातो खानेकुरा पनि छालाको लागि हितकर छैन ।
गर्मीमा छालाको स्याहार लागि छुटाउनै नहुने कुराहरु
बिहान बेलुका गरी दिनको दुई पटक छालाको प्रकृति अनुसारको फेस वासले मुख धुने ।
छालाको प्रकृति अनुसारको मोस्टराइजरको प्रयोग गर्ने ।
प्रशस्त मात्रामा पानी पिउने ।
गर्मीमा सन् त्रिमको प्रयोग गर्न नछुटाउनुहोला ।