डा. राजेन्द्र काेजु, कार्डियाेलाेजिस्ट
धुलिखेल अस्पताल
अहा, रसबरी कस्तो मीठो ! कति रसिलो ! अझै त्यो स्वाद गा’ छैन ।’ जिब्रो एक्लै बोल्दै थियो । हड्डी नै नभएको ज्यानलाई कहिले तालुमा चिप्काउँदै, कहिले गालामा नचाउँदै, दाँतको कुनाकाप्चा चहार्दै खुसी भइरहेको थियो जिब्रो । ‘अझ त्यो मासुको झोलसँगको भात त ! जत्ति खाए ’नि नपुग्ने ।’ मासुको स्वाद सम्झँदै ओठ फेरि एक पटक चाट्यो जिब्रोले । ‘त्यो मोरो पेटले ठाउँ छैन भन्यो र पो ! नत्र त अर्को एक थाल खान्थें नि !’
जिब्रो खुसी भएर बोलेको अलिक मुनि रहेको मुटुले सुन्यो । जिब्रो र मुटुको धनी मनुवा भने बिन्दास घुरिरहेको थियो । टन्न भोज खाएर आएको शरीर, मस्त सुतिराखेको थियो ।
फोक्सो, मुटुजस्ता अंग सधैंझैं जागै थिए । जिब्रो खुसी हुँदै बरबराइरहेपछि मुटुले झपार्यो, ‘के फतफताइरा’ नसुती !’
जिब्रो पनि कड्कियो, ‘तँ सुत् न !’
‘तँजस्तो हो, मनुवा सुत्नासाथ आराम पाउने ? म ’नि निदाएर ढुकढुक गरिनँ भने त यो मनुवा चेट हुन्छ । तँ ’नि फतफत गर्न पाउँदैनस् ।’ मुटुले सही कुरा बोल्यो ।
‘साँच्ची, तँ सुतिस् भने त हामी सबै
सुइँकिन्छौं होला ।’
रिस अलि थामिएपछि मुटुले जिज्ञासा राख्यो, ‘अघिदेखि के बरबराउँदै थिइस् ?’
जिब्रोले गमक्क पर्दै भन्यो, ‘हैन, आज यो मनुवा भोजमा गा’ थियो । स्वादिलो खाना मस्तले खान पाइयो । मैले त बजाएँ, सब थरीका खाना । मासु नै पाँच थरी । त्यो स्वाद सम्झेर बस्या ।’
‘स्वादिलो थियो भनेर धेरै खानुपर्छ त ?’ मुटुले गाली गर्यो ।
‘अनि मीठो भएपछि खानुपरेन त ?’
‘तैंले धेरै खाए हामीलाई गाह्रो पर्छ नि !’
‘हँ ? के भन्छ यो ? मैले धेरै खाँदा तँलाई किन गाह्रो ? गाह्रो भए पेटलाई हुन्छ नि !’ जिब्रोले अनभिज्ञता प्रकट गर्यो ।
‘पेटलाइ त एक्कै छिन हो नि ! पेटबाट तल पुगेपछि यी गुलिया, चिल्ला, मीठामीठा खानेकुरा मसिनो हुँदै आन्द्राबाट सोसिन्छन् । त्यही सोसिएको खानेकुरा नै रक्तनली हुँदै कलेजो र शरीरका सबै भागमा पुग्ने हो । आवश्यकता अनुसार ठिक्क मात्रामा शरीरमा पुगे अमृत, धेरै मात्रामा पुगे त्यही बोसो भई जम्नाले रक्तनली साँघुरिएर विषजस्तै हुने त हो नि !’ मुटुले बेलीविस्तार लगायो ।
‘हो र ?’ जिब्रो छक्क पर्यो ।
‘खानेकुरामा पाइने पोषण तत्त्वहरू प्रोटिन, कार्बोहाइड्रेट, फ्याट (चिल्लो), भिटामिन, मिनरल (खनिज पदार्थ), पानी सबैको मात्रा मिले शरीरलाई राम्रो । आवश्यकताभन्दा धेरै भयो भने नराम्रो ।’ मुटुले भन्यो ।
‘अनि ?’ जिब्रो चाख मानी सुन्न थाल्यो ।
‘ती पोषण तत्त्वमध्ये धेरैले आवश्यकताभन्दा बेसी खानेचाहिँ कार्बोहाइड्रेट र फ्याट नै हो । त्यहीचाहिँ धेरै भयो भने शरीरलाई खराब हुन्छ ।’
‘त्यही कार्ब र फ्याटचाहिँ धेरै किन खान्छन् त ?’
‘तँलाई त्यही मन पर्छ ।’
‘मतलब ?’
‘तँलाई मिठाई, जेरी, रसबरी मन पर्दैन ? मासु मन पर्दैन ? भात, मैदा, आलुको परिकार, गुलियो पेय पदार्थ मन पर्दैन ? घिउ, तेल बेस्सरी हालेर तारेको मन पर्दैन ? बिस्कुट, जंक फुड मन पर्दैन ?’
‘त्यही त मीठो हुन्छ !’
‘त्यसैमा त धेरै कार्ब र फ्याट हुन्छ नि ! तँ त्यस्तै मीठोमीठो धेरै खान्छस्, सागसब्जी हेर्दैनस् र शरीरलाई रोगको पोको बनाउँछस् ।’
‘हो नि ।’ जिब्रोले स्वीकार गर्यो ।
‘त्यहीचाहिँ भएन । मिठाईमा हुने कार्ब; भात, मैदाबाट बन्ने खानामा हुने कार्ब; मासुमा हुने चिल्लो र अरू चिल्लोबाट पाइने फ्याट; तयारी खाना, जंक फुड, गुलियो पेय पदार्थ आदि जत्ति धेरै खाइन्छ, त्यति धेरै हानि हुन्छ,’ मुटुले सम्झायो ।
‘अनि मलाई त्यही मीठो लाग्छ,’ जिब्रो लाचारी प्रकट गर्यो ।
‘तेरै मीठो स्वादको लोभले त सबै बिग्रिरा छ,’
मुटु कड्कियो ।
‘त्यस्तो खाँदा खराब हुन्छ चाहिँ के त ?’
‘केचाहिँ हुन्न भन् न । प्रेसर बढ्दैन कि ? चिनी रोग हुने चान्स बढ्दैन कि ? मुटु रोगको सम्भावना बढ्छ । मृगौला खराब हुन सक्छ । पक्षाघात हुन सक्छ । आँखा खराब हुन सक्छन् । कलेजोलाई असर पर्छ ।’
‘हो र ?’ जिब्रो आत्तियो ।
‘यति मात्र हो र, योसँग सम्बन्धित अरू धेरै रोग ’नि छन् । हुँदाहुँदा, धेरै खाएर धेरै मोटा भएकाहरूमा बच्चा पेटमा आउन गाह्रो हुनेसम्म पनि हुन सक्छ ।’
‘हैट । अब म खान्नँ यस्ता कार्बसार्ब, फ्याटस्याट भा’ खानेकुरा ।’
‘तँलाई खाँदै नखा कल्ले भन्या छ र ? धेरै नखा पो भन्या । भोजभतेरमा धेरै नखा, गुलियो पेय नखा अनि भात, रोटी, मिठाई धेरै नखा पो भन्या त ! तैंले धेरै खान मन नगरे शरीर मोटो हुँदैन, शरीर हल्का हुन्छ, स्वास्थ्य पनि राम्रो हुन्छ ।’
‘अब म कार्ब र फ्याट धेरै खान्नँ । गुलियो पेय त पिउँदै पिउँदिनँ ।’ जिब्रोले वाचा गर्यो ।
‘बरु त्यसको सट्टा सागसब्जी, फलफूलमा ध्यान दे ।’
‘हुन्छ । म अब सागसब्जीले पहिला सन्तुष्ट हुन्छु । साग, मूला, काँक्रो, गाजर, बन्दालाई प्राथमिकता दिन्छु । भात अथवा रोटी अथवा चिउरा अथवा ब्रेड थोरै मात्र खान्छु । बरु मकै, कोदोको परिकार केही खान्छु । मासु पनि थोरै खान्छु ।’
‘त्यसो गरे त हामीलाई ’नि राम्रो हुन्छ ।’
‘स्वाद मलाई नै चाहिने हो । मैले नियन्त्रण गरे त भैहाल्यो नि । रह्यो मनको कुरा, मनलाई म सम्झाइहाल्छु,’ जिब्रोले भन्यो ।
यी दुईका कुरा मृगौलाले सुनिरहेको थियो । जिब्रोको सुध्रिने कुरा सुनेर उसले भन्यो, ‘क्या गज्जबको कुरा ! लौ छिटो व्यवहारमा उतार् ।’
पेटले दंग पर्दै भन्यो, ‘ल अब मलाई ’नि राम्रो हुने भो ।’
आन्द्रा झन् मक्ख पर्यो । ‘सबैभन्दा खुसी त मै हुन्छु होला । हरेक बिहान मलाई सजिलो हुन्छ । एकै छिनमा हल्का हुन पाउँछु ।’
गिदी र आँखा पनि दंग परे ।
सबै खुसी भएको देखेर जिब्रोलाई अचम्म लाग्यो । सोच्यो-यिनीहरू सबैलाई दुःख त मैले पो देको रैछु । आफू लोभी बनेर सबैलाई अप्ठ्यारामा पार्दै आएकामा उसलाई सरम पनि लाग्यो । र सबैले सुन्ने गरी घोषणा गर्यो, ‘अबदेखि म धेरै कार्ब र फ्याट भा’ खानेकुरा खान्नँ । सागसब्जीमा ध्यान दिन्छु । पानी पनि आवश्यक मात्रामा पिउँछु ।’ झट्ट सम्झिएर उसले सोध्यो, ‘चुरोटचैं के गर्नु नि ?’
सबैले एकस्वरमा गाली गरे, ‘धत्, त्यो नि सोध्ने हो ? छोडिहाल् ।’ फोक्सो आक्रोशित भएर बोल्यो, ‘तेरो त्यही अम्मलले गर्दा म सबै कालो भैसकें । अचेल कस्तो सास फुल्छ ! अझ क्यान्सर होला भन्ने कत्रो पीर छ ! छोडिहाल् ।’
‘पक्का छोड्छु,’ जिब्रोले भन्यो ।
यस्तैमा ठूलो भुँडी भएको मनुवा कोल्टे फेर्यो ।
०००
जिब्रोले स्वादमाथि नियन्त्रण गर्दै गएपछि, उसले प्रण नभुलेपछि ठूलो भुँडी घट्दै गयो । शरीर स्वस्थ भयो । अंग–प्रत्यंग स्वास्थ्य झन्झटबाट टाढा हुँदै गए ।