काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस घेब्रेयसस तीन दिने नेपाल भ्रमण गरी फर्किएका छन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गरेका थिए।
महानिर्देशक डा टेड्रोस घेब्रेयसससँगको भेटवार्ताका क्रममा दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको थियो । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएका डा.ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका थिए।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खतिवडाले डा ट्रेडोससँग भेटवार्ताका क्रममा भएका सहमति सार्वजनिक गरेका छन् ।
उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोगका लागि अनुरोध गरेको बताए।
उनले स्वास्थ्य संकटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका लागि डब्लुएचओको भूमिका अझै सुदृढ बनाइराख्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जिन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकोमा डब्लुएचओप्रति आभार व्यक्त गरेका थिए।