काठमाडौं । नेपालमा स्थानीय तहको निर्वाचन मिती नजिकिँदै गर्दाे राजनीतिक दलहरुले चुनाव लक्षित घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । चुनावी घोषणा पत्रमा कुन दलको प्राथमितकता स्वास्थ्यका के कस्ता पक्ष उल्लेख गरिएको छ भन्नेबारे गरिएको विस्तृत जानकारी प्रस्तुत गरिएको छ ।
एमालेको घोषणा पत्र : स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य चौकी
नेकपा एमालेले स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो । घोषणापत्रमा पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने जनाइएको छ ।
यस्तै आरोग्यता, स्वास्थ्य परीक्षण, निशुल्क आधारभतू स्वास्थ्य सेवा, जटिल रोगको निशुल्क उपचार, विमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी पनि एमालेले गरेको छ । ‘प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।
स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गंभीर रोगको पूर्वपरिक्षण (स्क्रिनिङ) र पाठेघरको क्यान्सरको निशुल्क परीक्षण गर्ने प्रतिवद्धता एमालेले गरेको छ ।
‘प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको स्वास्थ्य विमा निशुल्क गर्ने,’ घोषणापत्रमा लेखिएको छ । स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गंभीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धबता एमालेको छ ।
कांग्रेसको घोषणापत्र: स्वास्थ्यमा कम्तीमा १० प्रतिशत बजेट
नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा ‘सबैलाई स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ नारा अगाडि सारिएको छ।
घोषणापत्रमा स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पु¥याउने, जनस्वास्थ्य,भूगोल, विद्यमान स्वास्थ्य संस्था, अवस्था पहुँच र गुणस्तर, उमेर समूहका आधारमा रोगको भार र सूचक हेरेर स्थानीय स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, सबै स्वास्थ्यसंस्थाबाट सामान्य आकस्मिक सेवा नियमित प्रवाह हुने व्यवस्था, हरेक स्थानीय तहमा सुविधानसम्पन्न एम्बुलेन्स सेवा र दमकलको व्यवस्था, एक वर्षभित्र स्थानीय तहको स्वास्थ्य प्रणालीका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी व्यवस्था गर्ने, दुर्गम गाउँ नगरपालिकाको हकमा चिकित्सा शिक्षा आयोगसँग समन्वय गरी जेहेन्दार विद्यार्थीका लागि स्थानीय तहले आफ्नो स्रोतमा चिकित्सकलगायतको जनशक्तिका लागि छात्रवृत्ति र अध्ययनपश्चात आफ्नो स्थानीय तहमा सेवा दिने प्रबन्ध गर्नेलगायतका प्रतिबद्धता जनाइएको छ।
राप्रपाको घोषणा पत्र : हरेक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप
राप्रपाको घोषणा पत्रमा ‘प्रत्येक वडामा सुत्केरी सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, भनी उल्लेख गरिएको छ ।
स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
नेकपा एकीकृत समाजवादीको घोषणापत्रमा प्राथमिकता स्वास्थ्य
नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चुनावी घोषणा पत्रमा जनताको अधिकार निःशुल्क स्वास्थ्योपचार भन्ने नारा नेकपा एसको अगाडि सारेको छ । स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने उसले जोड दिएको छ ।
स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने र यसका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन र साधन–स्रोतको वितरणमा संघ र प्रदेश सरकारहरूसँग सहकार्य गरिने उक्त पार्टीले जनाएको छ। विभिन्न शल्यक्रियाहरु निशुल्क गर्ने पनि एकीकृत समाजबादीे पार्टीको घोषणा पत्रमा उल्लेख छ।
जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
जसपाको घोषणापत्र : हरेक पालिकामा बर्थिङ सेन्टर, प्रत्येक वडामा चिकित्सक
जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्रमा आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने उल्लेख गरेको छ ।
त्यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ।