काठमाडौं- कोभिड-१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएपछि ओम समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियान्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा शुरु गरिएको हो।
यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान, क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, कलाकार निखिल उप्रेती, केदार घिमिरे लगायतको सहयोग छ।
अभियन्ता प्रधानले कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको बताए।
अभियानअन्तर्गत गरीब, दुःखी, असहाय वा एम्बुलेन्स सुविधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिका लागि आफूहरूले पूर्ण सहयोग गरी सम्भव भएसम्म अस्पताल पुर्याउने ओम समाज हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले बताए। शनिबारदेखि शुरु गरिएको अभियानअन्तर्गत कोभिडका बिरामीलाई उनीहरूले चाहेका अस्पताल पुर्याउने तथा अक्सिजन व्यवस्थापनको कार्य गर्दै आएको उनले बताए।
दैनिक ४० देखि ५० बिरामीले यो सेवा लिइरहेका छन्। आज दुई सयभन्दा बढी फोन आएको र बिरामी व्यवस्थापनमा अभियान सक्रिय रुपमा जुटेको बताइएको छ। सेवा लिनका लागि ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिने प्रधानले बताए।
रासस