कास्की । लागुऔषध प्रयोगकर्ताहरुलाई अपराधीको रुपमा नभइ एक बिरारीको रुपमा हेर्न सम्बन्धीत क्षेत्रका अगुवाहरुले आग्रह गरेका छन्।
पोखरामा रिकभरीङ नेपालले मंगलबार पोखरामा आयोजना गरेको मिडिया क्याम्पेनिङ एण्ड एड्भोकेसी अन ल रिफम विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले लागुऔषध प्रयोगकर्ताहरुलाई अपराधी हैन विरामीको रुपमा हेर्न आग्रह गरेका हुन्।
लागु औषध प्रयोगकर्ताहरु एक बिरामी जस्तै रहेकाले उनीहरुलाई सहयोग गरि समाजमा घुलमील हुने वातावरण सुजना गर्न समेत उनीहरुले माग गरेका छन्। उनीहरुले लागु औषध ऐनलाई समय सापेक्ष बनाउन पनि माग गरेका छन्।
नेपालमा झण्डै ४३ वर्ष अगाडी बनेको लागु औषध ऐन २०३५ कार्यान्वयनमा रहेकाले यसलाई परिमार्जन गरि समय सापेक्ष बनाउन उनीहरुले माग गरेका छन्। नेपालले विश्वका विभिन्न फोरमहरुमा लागु औषध सम्बन्धी नयाँ नयाँ घोषणापत्रहरुमा सम्झौता गरेपनि देशमा भने ४३ वर्ष अघि तयार भएको ऐनलाई संसोधन नगरेको उनीहरुको भनाई छ।
कार्यक्रममा रिकभरीङ नेपालका अध्यक्ष विकास बरुवालले नेपाल सरकारले राष्ट्रिय अन्तराष्ट्रिय लागुऔषध सम्बन्धी विभिन्न घोषणा पत्रहरुमा हस्ताक्षर गरेपनि देशमा भने ४३ वर्ष अघि बनेको ऐन कार्यान्वयन गरिरहेको बताए । समय सापेक्ष रुपमा ऐन संसोधन नहुदा लागु औषध प्रयोगकर्ताहरुलाई प्रहरी प्रशासनले निर्ममता पुर्वक ज्यादती गरेको उनको जोड छ।
लागु औषध प्रयोग गर्नु राम्रो काम हैन तर प्रयोग गर्नेहरुलाई समाजले राम्रो नजरले हेरी समाजमा घुलमील हुने वातावरण सुजना गरी कुलतबाट बाहीर निकाल्न सहयोग पुग्ने गरि कानुन बनाउन उनले माग गरे। यस्का लागि हामी जस्तै संघ संस्था सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै कुनै पनि ऐन कानुन बनाउदा सरोकारबालाहरुलाई समेत सहभागी गराउन उनको आग्रह थियो।
ुसमाजमा हाल गाँजा र रक्सीलाई सामान्य रुपमा लिने गरिएको छ जसबाट समाजमा धेरै समस्या आएका छन्ु उनले भने। हामी कुनै पनि कुरालाई सुरुमा सामान्य रुपमा लिन्छौ जब गम्भीर अवस्थामा पुग्छ तब मात्र उपचारको खोजीमा लाग्ने गरेको भन्दै उनले गम्भीर अवस्थामा पुग्ने वातावरण सृजना हुन नदिन सबै सचेत हुन आवश्यक रहेको बताए।
रिकभरीङ नेपालका कार्यक्रम संयोजक देवेन्द्र गुरुङले नेपालमा प्रत्येक वर्ष ११ दशमलब ३६ प्रतिशतका दरले लागु औषध प्रयोगकर्ताहरुको संख्या बढदै गएको जानकारी दिए। ०६३ सालमा ४६ हजार, ६९ सालमा ९१ हजार र ०७६ सालमा लागु औषध प्रयोगकर्ताहरुको संख्या एक लाख ३० हजार पुगेको उनको भनाई थियो। जस्मा गाजाँ जन्य लागु औषध प्रयोग गर्नेको संख्या ८४ प्रतिशत रहेको बताए।