- समृद्धा के.सी.
काठमाडौं- "जन्म र मृत्युलाई कसैले रोक्न सक्दैन" भनेजस्तै नेपालमा शल्यक्रिया सुरुवात गर्ने मध्येका एक वरिष्ठ शल्यचिकित्सक डा.ध्रुव मुडभरीको शनिबार निधन भयो।
उनी यस संसारबाट सदाका लागी बिदा भएपनि मेरो मानसपटलमा उनको सेतै फुलेको कपाल, रेखै रेखा खिचीएको अनुहार अनि उस्तै जोस र जागर भरिएको त्यो आवाज आज पनि जीवितै छ ।
आज भन्दा करिब ५ महिना अघि ओम अस्पतालमा अन्तवार्ताका लागि जादा उनीसँग भेट भएको थियो । उनी साधारण जीवन जिउन रुचाउने एक सफल चिकित्सक हुन् । नुवाकोटको ठुल्ली भन्ने गाउँमा वि.स. १९९९ मा जन्मिएका डा मुडभरीले मंसिर ६ गते शनिबार कोरोनाका कारण मुत्युवरण गरे।
उनि सँग कुरा गर्दै जादा उनले २०२७ सालमा हालको लुम्बिनी अञ्चल अस्पताल, बुटवल पुगेको बताएका थिए। त्यसबेला शल्यक्रिया गर्दा बेहोस बनाउने कुनै पनि साधन त्यस अस्पतालमा उपलब्ध थिएन । उनले भनेका थिए, आफुसँग जे छ त्यहि बाट सेवा दिनुपर्ने बाध्यता थियो । त्यो समयमा सर्जरी गर्दा एनेस्थेसिया (बेहोस बनाउन) मा सहयोग गर्ने व्यक्ति थिएन्न । त्यसकारण शल्यक्रिया गर्दा बेहोस बनाउन इथाइलको प्रयोग गरेर बिरामीको शल्यक्रिया गरेको बताएका थिए ।
यसरी उपचार गर्दा के होला ? कसो होला ? भन्ने उनलाई नलागेको भने होइन तर पनि उनले यस्ता अनेकौं चुनौतिहरु पार गर्दै चिकित्सकिय पेशालाई कर्मठका साथ निरन्तरता दिइ रहे ।
चिकित्सकीय पेशामा अहिले जस्तो सहज त्यो समयमा पक्कै पनि थिएन । कसरी आफुलाई यो अहोदा सम्म पुर्याउनु भयो र मानस्पटलमा सधैँ रहिरहने घटनाबारे म जान्न इच्छुक छु भन्दा यसरी उनले यसरी सझिएका थिए ।
घटना-१
त्यो समयमा टाउकाको शल्यक्रिया काठमाडौंमा डा. दिनेश डन्गोलले मात्र गर्थे । उपत्यका बाहिरका अन्य जिल्लामा टाउको को शल्यक्रिया गरिदैन थियो । उनी बुटवलमै कार्यरत हुदाँ एक व्यक्ति स्कुटरबाट लडेर असपताल ल्याइएको थियो । उनको तुरन्त टाउकाको शल्यक्रिया गर्नुपर्ने थियो, अन्यथा बिरामीको टाउकोमा रगत जमेर ज्यान जान सक्ने सम्भावना उच्च थियो ।
त्यसबेला मैले आफ्नै अनुभवका आधारमा आकस्मिक शल्यक्रिया गरेको थिए । शल्यक्रिया सफल भयो । बिरामी सन्चो भएपछि खुसि हुदै मलाई स्कुटर नै उपहार दिए । नेपाल सरकारबाट पारिश्रमिक लिएर काम गरेको छु भन्ने मनासयले मैले उपहार लिन मानेन । तर अस्पताल प्रशासनले लिनु भने पछि उपहार लिएको थिए ।
घटना-२
पोखरामा एक महिला प्रसुती हुनका लागी अस्पताल पुगेकी थिइन् । उनको शरीरमा हेमोग्लोबिन ३ (कम थियो) मात्र थियो त्यो समयमा पोखरा अस्पतालमा ब्लड बैंक थिएन । भाग्यबस ती महिला र मेरो रगत एउटै समुह एबी नै पर्यो । मेरै रगत दिएर ती महिलाको अप्रेशन गरे । आमा र बच्चा बाँच्न सफल भए ।
घटना ३
पोखरा गएको समयमा करिब ७र ८ वर्षको एक बालकको पेट फुलेर उपचार भइरहेको थियो । त्यो बालकको मुखबाट जुगा गएर सास फेर्ने नलिमा अड्किएको थियो । उनि मर्ने अवस्थामा पुगेका थिए । यस्तो जटिल अवस्थामा मैले ति बालकको उपचार गरेको थिए ।
यसरी उनले प्रविधिको अभाबमा सेवा दिदैँ अहिलेको प्रविधियुक्त समयमा पनि चिकित्सकिय पेशालाई अगाडी बढाइ रहेका थिए । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा.मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।
राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक पनि हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।