काठमाडौं । अस्वस्थकर मानिने खानेकुरा जस्तै कुरकुरे, चिजबल, लेज आयातमा रोक लगाउने सरकारले निर्णय गरेको छ । यस्ता खानेकुराले एकातिर मानिसको स्वास्थ्य बिग्रिएको छ भने अर्काेतर्फ यस्ता खानेकुराको आयातले ठूलो धनराशी विदेशिने गरेको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको हो
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता सामग्री आयात भएको पाइएपछि सरकारको आँखा यी पदार्थको आयातमा पुगेको हो। पछिल्लो समयमा देशको आर्थिक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले बुधबारदेखि लागू हुने गरी ती सामग्री आयातमा प्रतिबन्ध लगाई मुलुकको आर्थिक स्वास्थ्य अवस्था सुधारको पहल थालेको हो।
विदेशी मुद्राको सञ्चिति ६–७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यीलगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो। यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो। भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरेजस्ता सामग्री आयात भएका छन्।