एजेन्सी । हामी सलाद भन्ने वित्तिकै काँक्रोलाई सम्झिने गर्छौ । घरमा कुनै पाहुना आएका बेला होस् वा पिकनीकमा । हुनतः खानामा काँक्रोलाई सलादको रुपमा प्रयोग गर्ने हामी नेपालीहरुको संस्कार नै बनिसकेको छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक पनि मानिएको छ । खानासंगै सलादको रुपमा हामी काँक्रोलाई अनिवार्य प्रयोग गर्ने गर्छौ ।
गर्मीमा शरिरलाई चिसोका लागि पनि काँक्रो खानु निकै लाभदायक मानिन्छ । काँक्रोमा ९६ प्रतिशत पानीको मात्रा हुनुका साथै भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, पोटाशियम र फास्फोरस पाइन्छ । यसको नियमित प्रयोगले शरिरलाई आन्तरिक र बाह्यिरुपमा पनि बलियो बनाउँछ ।
काँक्रो नियमित रुपमा खानुका केही फाइदाहरु यसप्रकार छन्
१. क्यान्सरबाट बचाउने– काँक्रो नियमित रुपमा खाने गर्नाले क्यान्सरको खतरा कम हुन्छ। काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ।
२. मधुमेह-रक्तचाप– काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ। काँक्रो खानाले कोलस्ट्रोलको स्तर कम हुन्छ जसले हृदय सम्बन्धि रोग हुने शंङ्का निकै कम हुन्छ। काँक्रोमा फाइबर, पोटाशियम र म्याग्नेशियम पाइने भएकाले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्दछ। उच्च र न्युत रक्तचाप भएकाहरुका लागि काँक्रो औषधिको रुपमा मानिन्छ।
३. मुख गनाउँने – काँक्रो नियमित रुपमा सेवन गर्नाले मुख गनाउँने समस्या हुँदैन्। काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ। यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ।
४.जोर्निको समस्या– काँक्रोमा सिलिशीया नामक तत्व प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ। काँक्रोको नियमित सेवनले युरिक एसिडको स्तर पनि कम गर्न मद्दत गर्छ।
५.आँखाका लागि फाइदा– प्रायजसो फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ।