लन्डन । दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठूलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएको छ ।
दम एक ब्रेदिङ डिसअडर हो जसअन्तर्गत श्वासनली साँघुरो हुन्छ, फुल्छ र धेरै खकार आउँछ । स्वा स्वा हुनु, श्वास फेर्न कठिनाई हुनु, छाती दुख्नु, खोकी लाग्नु यसका लक्षण हुन । अस्थमाले विश्वभर करिब १३ करोड ६० लाख महिलालाई असर गरेको छ ।
बेलायतमा पछिल्लो पाँच वर्षमा दमका कारण ५१ सयभन्दा बढी महिलाहरूको मृत्यु भएको छ । सोही अवधिमा २३ सयभन्दा थोरै पुरुषहरूको यो रोगबाट मृत्यु भएको छ ।
अध्ययनअनुसार महिला सेक्स हर्मोनहरूमा परिवर्तनहरूले दमको लक्षणहरू देखिने गरेको र त्यसबारे धेरै मानिसहरू अनभिज्ञ छन् । बाल्यअवस्थामा यो रोग बालकहरूमा बढी देखिन्छ । तर, यौवन अवस्थापछि स्थिति परिवर्तन हुन्छ र महिलाहरूमा दम अधिक देखिन्छ ।
यी हुन् दमको लक्षण र घरेलु उपचार
१) श्वासप्रश्वासमा कठिनाई
२) सुत्न असजिलो तथा अनिन्द्रा
३) खोकी लाग्नु
५) अनावश्यक थकावट
घरेलु उपचार
१) अदुवाको रस, अनारको रस र मह बराबर मिलाएर यस मिश्रणको १/१ चम्चा दिनको तीन पटक सेवन गर्ने ।
२) कागतीमा भिटामिन सी प्रसस्त पाइने हुँदा तातोपानीमा कागती निचोरेर आवश्यकता अनुसार मिश्री मिलाई दिनको ३/४ पटक पिउने ।
३) अमलालाई कुटेर लेदो बनाई महसँग मिलाई सेवन गर्ने ।
४) एक चम्चा महसँग आधा चम्चा दालचिनी पाउडर मिलाई सुत्नु भन्दा अगाडी सेवन गर्ने ।
५) प्याजलाई सलादको रुपमा प्रयोग गर्दा दममा राहत मिल्दछ ।
६) एक गिलास तातो दुधमा जैतुनको तेल र मह बराबर भाग मिलाई लसुन चबाउदै बिहान खाजा अगाडी पिउने ।
७) पानीमा एक चम्चा जुवानो उमालेर यसको बाफ लिने/पिउने ।
८) पुरानो अमिलो अचार, अमिलो दही नखाने, चिसो हुने खानेकुरा कम खाने ।
९) धुवाँधुलो चिसो अस्वस्थकर वातावरणबाट जोगिने ।