विराटनगर । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ। चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुले हरेक वर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसवर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो।
फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम, म्याराथन, पब्जी, फिफा र मिनिमिलेसिया लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजक समूहका विद्यार्थी अमन मेहताले जानकारी दिए।
जसमध्ये पुरुष फुटबलतर्फ डाक्टरको समूहलाई पराजित गर्दै पीसीएल बिजयी बन्यो। पुरुष कवडीतर्फ डाक्टरको समूह बी लाई पछि पार्दै पीसीएल समूह नै बिजयी बन्यो । त्यस्तै कवडी महिलातर्फ वीडीएस समूहलाई पराजित गर्दै होस्टल समूह बिजयी भएको छ।
यता, भलिबल महिलामा होस्टल समूह बिजयी बनेको छ भने पुरुषतर्फ सुरक्षा गार्डको समूह बिजयी भएको हो । पुरुष क्रिकेटमा डाक्टरहरुको समूह बी बिजयी भएको छ। यता, क्रिक्सल महिलामा वीडीएस समूहलाई हराउँदै डाक्टरको समूहले जित हाँसिल गरेको छ। त्यस्तै पुरुष र महिला दुवै तर्फ भएको १०० मिटर म्याराथनमा एमवीवीएसका गिर्वाणकुमार बुढाथोकी र निशा लिम्बु बिजयी भए।
बिजयी टिम र खेलाडीलाई समापन कार्यक्रममा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। सोही अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। यस वर्षको फियस्टा एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा आयोजना गरेका हुन्।
नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन्।