एजेन्सी । मुटुलाई स्वस्थ राख्नका लागि स्वस्थकर खानपान र नियमित व्यायाम आवश्यक मानिन्छ।
तर, यी दुईबाहेक सामान्य मानिने अन्य धेरै गतिविधिहरूले थाहा नदिई मुटुको स्वास्थ्यमा प्रभाव पारिरहेका हुन्छन् । लामो समयसम्म गरिने केही बानीले हृदयको दक्षतालाई कम गरी मुटुलाई अस्वस्थ बनाउँछ । मुटुको स्वास्थ्यलाई हानि पु¥याउने केही सामान्य कारण तल उल्लेख गरिएको छ ।
दिनभर लामो समयसम्म एउटै ठाउँमा बस्नाले पनि हृदयघातको जोखिम दोब्बर हुन सक्छ । अमेरिकन हार्ट एसोसिएसन (एएचए) जर्नलमा प्रकाशित अध्ययन अनुसार पर्याप्त हिँडडुल नगर्ने वा हरेक दिन पाँच घन्टा वा सोभन्दा बढी बस्ने मानिसमा मुटुसम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ । मुटुलाई स्वस्थ राख्न हरेक घन्टा पाँच मिनेट हिँड्न सल्लाह दिइन्छ ।
मुखको सरसफाइमा लापरबाही गरेमा गिजा सुन्निने र दाँतमा क्षति हुनेजस्ता दाँतको समस्या बढाउँछ, तर यसले मुटु र मिर्गौलासम्बन्धी रोगहरूलाई पनि निम्तो दिन्छ । जर्नल अफ पिरियडोन्टल रिसर्चमा प्रकाशित अध्ययनले नियमित रूपमा फ्लस गर्ने मानिसमा मुटुसम्बन्धी समस्या कम हुने देखाएको छ । गिजाको समस्या निम्त्याउने ब्याक्टेरियाले शरीर सुन्निने समस्या बढाउन सक्ने हँुदा यसले मुटुरोगको जोखिम बढाउँछ ।
मुखबाट लुकेका ब्याक्टेरिया हटाउनका लागि मुखको सरसफाइमा ध्यान दिन जरुरी हुन्छ । खानामा माथिबाट नुन थपेर खानाले उच्च रक्तचाप र हृदय रोगको जोखिम बढ्न सक्छ । प्रशोधित खानेकुरा र जङ्क फुडको सेवनले पनि मुटुसम्बन्धी समस्या र यसको जोखिम बढाउँछ । व्यायाम गर्नु मुटुको स्वास्थ्यसहित समग्र स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
एकै समयमा धेरै व्यायाम गर्दा हृदयमा अतिरिक्त दबाब पर्न सक्छ जसले मुटुरोगको जोखिम बढाउँछ । यसबाहेक एक्लोपनले पनि मुटुरोगको जोखिम बढाउँछ । एक्लै बस्ने मानिसलाई मुटुको रोग लाग्ने सम्भावना बढी हुन्छ । परिवार र साथीहरूसँग समय बिताउँदा तनाव स्तर कम हुन्छ । घरपालुवा जनावर पाल्दा पनि जीवनमा आनन्द ल्याउन मद्दत पुग्छ ।
एक्लोपन विभिन्न मानसिक र शारीरिक स्वास्थ्य समस्याहरूको कारण हुन सक्छ । तर नराम्रो र सधैँ दुखी हुने सम्बन्धमा बस्नु पनि मुटुको समस्यालाई बढाउन सम्बन्धित रहेको पाइएको छ । यसले तनावको स्तर बढाउँछ र अस्वस्थ खाने बानी गराउँछ । जसले मुटुरोगको जोखिम बढाउँछ । सुखी र सन्तुष्ट सम्बन्धले व्यक्तिलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्छ र आयु बढाउँछ ।