एजेन्सी । मधुमेह रोग विश्वभर नै महामारीका रुपमा देखा परेको छ ।
साधारण भाषामा भन्नुपर्दा मधुमेह भनेको चिनी रोग हो। मधमेहको समस्या वा रोगको जोखिम वृद्ध उमेरका मानिसमा मात्र नभई युवा उमेर समूहका मानिसमा पनि बढिरहेको छ।
मधुमेहको मुख्य कारण बढ्दो तौल वा मोटोपनको समस्या र खराब जीवनशैली हो । टाइप १ मधुमेह र टाइप २ मधुमेह गरी मधुमेह दुई प्रकारका हुन्छन् । टाइप १ मधुमेहमा प्यान्क्रियाजले इन्सुलिन पटक्कै उत्पादन गर्दैन भने टाइप २ मधुमेहमा प्यान्क्रियाजले कम इन्सुलिन उत्पादन गर्छ।
टाइप २ मधुमेह भएका बिरामीको शरीरले चिनी प्रशोधन गर्ने क्षमता गुमाउँछ वा शरीरले इन्सुलिन प्रयोग गर्न असमर्थ हुन्छ । टाइप २ मधुमेह भएका मानिसहरूमा ५७ वटा अन्य रोगहरूको जोखिम बढेको अध्ययनले देखाएको छ ।
टाइप २ मधुमेहले क्यान्सर, मुटु र मिर्गौला रोगको जोखिम पनि बढाउँछ । क्याम्ब्रिज युनिभर्सिटीको नेतृत्वमा र डायबिटिज युकेले गरेको उक्त अध्ययनमा बेलायतका ३० वर्षभन्दा माथिका ३० लाख मानिसको डाटा प्रयोग गरिएको थियो।
अध्ययनबाट टाइप २ मधुमेह भएका बिरामीहरूमध्ये मध्यम उमेरका मानिसहरूलाई एक सय १६ गम्भीर स्वास्थ्य समस्याहरूमध्ये ५७ वटा रोगको विकास हुने उच्च जोखिम रहेको पाइयो।
बेलायतका अनुसन्धान निर्देशक डाक्टर एलिजाबेथ रोबर्टसनले मधुमेहका जटिलताहरू गम्भीर हुने र यसले ज्यान समेत जोखिममा पार्न सक्ने बताइन् । अनुसन्धानले टाइप २ मधुमेह भएका बिरामीहरूमा मिर्गौला रोगको जोखिम पाँच गुणा बढी रहेको देखाएको छ।
त्यस्तै मधुमेहका बिरामीमा कलेजोको क्यान्सरको जोखिम औसतभन्दा चार गुणा बढी रहेको पाइएको छ । सोही उमेरका अन्य व्यक्तिहरूको तुलनामा मधुमेहका बिरामीलाई ६ वर्षअघि मुटुसम्बन्धी रोग र आँखाको समस्या देखिएको थियो।
मधुमेह भएका बिरामीले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । अध्ययनका लेखक डाक्टर। लुआनका अनुसार कम उमेरमा निम्तिन सक्ने स्वास्थ्य समस्यालाई रोक्नका लागि टाइप २ मधुमेहको रोकथाम धेरै महत्त्वपूर्ण हुन्छ।