काठमाडौं । झरी सुरु भइसकेको छ। झरीको मौसममा मलेरिया, डेंगु, डायरिया, टाइफाइड, रुघाखोकीलगायत रोग लाग्ने जोखिम बढी हुने भएकाले झरीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नुपर्छ।
– उमालेको अथवा क्लोरिन हालेको पानी मात्र पिउनुपर्छ।
– ताजा फलफूल र तरकारी खानुपर्छ। सडेगलेको खानुहुँदैन।
– वर्षातपछिको समयमा धुलो उडिरहेको सडकछेउ राखिएको पसलबाट स्ट्रिट फुड खानुहुँदैन। पानी मिसाइने खाद्य पदार्थ त्यस्ता ठाउँमा विशेष गरी खानुहुँदैन।
– घरबाहिर निस्किँदा फोल्ड गर्न मिल्ने छाता झोलामा हाल्ने बानी बसाल्नुपर्छ।
– जुस लगायत पेय पदार्थमा हालिने बरफले रुघा लगाउन सक्ने भएकाले चिसो लागेको महसुस भएको वेला बरफ खानुहुँदैन।
– झरीमा डायरियालगायत हुने जोखिम बढी हुने भएकाले दिसापिसाब गरेपछि साबुनपानीले हात धुने गर्नुपर्छ।
– झरीका वेला जगिङ, साइक्लिङ, वर्काउटलगायत गर्न अप्ठ्यारो हुने भएकाले स्वास्थ्यलाई राम्रो बनाइराख्न योग गर्नुपर्छ। घरभित्रै व्यायाम गर्नुपर्छ।
– घरमै बसी–बसी पनि योग गर्न सकिने भएकाले झरीमा योग कसरतको सबैभन्दा सजिलो उपाय बन्न सक्छ।
- लामखुट्टे, भुसुना आदि घरभित्र नछिरून् भन्नका लागि साँझ पर्न लाग्दादेखि नै झ्यालढोका लगाउनुपर्छ।
– दिनमा तीनपटकभन्दा बढी पातलो दिसा भयो भने डायरिया लागेको हुन सक्छ। यस्तोमा मसलेदार खाना खान बन्द गर्नुपर्छ र जीवनजल पिउने गरिहाल्नुपर्छ।
- पानीमा भिज्ने वा भिजेका कपडा लगाएर बस्न हुँदैन।
– हनहनी ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने आदि भयो भने मलेरिया लागेको हुन सक्छ। यस्तो भइरह्यो भने जँचाइहाल्नुपर्छ।