काठमाडौं । पछिल्लो समय छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्दै गएको छ । नेपालमा पनि स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै छ । स्थानीय तहको निर्वाचन आउन अब केवल १० दिन बाँकी छ ।
खुला सिमानाका कारण नेपाल र भारतबीच ओहोरदोहोर सहज छ । ठूलो संख्यामा नेपालीहरू भारतका विभिन्न स्थानमा विभिन्न पेसा र व्यवसायमा सक्रिय छन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतबाट ठूलो संख्यामा नेपाली घर फर्कने क्रम पनि सुरु भइसकेको छ ।
यस्तो स्थितिमा सरकारले भारतमा कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि त्यसको असर पर्नसक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे।
उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरूलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकिएको पनि बताए । अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए ।
अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती भएको प्रारम्भिक तथ्य फेला परेको जानकारी पनि दिए । उनले यस विषयमा थप अध्ययन अनुसन्धान भइरहेकोले विस्तृत विवरण आउन केही समय लाग्ने बताए ।
सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरूको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनुपर्ने बताए । उनले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै थप सावधानी अपनाउन आवश्यक रहेको बताए।
उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको जानकारी पनि दिए । भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा निर्वाचनको मिति पनि नजिकिँदै गएको अहिलेको स्थितिमा खासगरी सीमा क्षेत्रहरूमा विशेष सावधानी अनपाउनुपर्ने विज्ञहरूको सुझाव छ।