काठमाडौं । विश्वमा प्रत्येक मिनेट १७ जनाको मृत्यु क्यान्सरका कारण भइरहेको छ । हामीले कुराकानी गर्दागर्दै पनि केही मानिसको क्यान्सरकै कारण मृत्यु भइरहेको हुन्छ । यसकारण क्यान्सर सचेतनासम्बन्धी विभिन्न कार्यक्रम र गतिविधिको औचित्य र महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
क्यान्सरको जोखिम र यसको छिटो निदान आवश्यक छ । यसपछि सही उपचार विधिको महत्व पनि उत्तिकै छ । पछिल्लो समय बालबालिकामा पनि क्यान्सरको जोखिम बढ्दो क्रममा छ । हुनत बालबालिका र अन्य उमेर समूहमा हुने क्यान्सरबीच तात्विक भिन्नता रहेको छ। ठूला मानिसमा हुने क्यान्सरमा भने वातावरणीय प्रभाव बढी देखिन्छ । बालबालिकामा भने उनीहरुको जीन, जीनहरुको समूहमा पर्ने असर र चोटका कारण क्यान्सर हुने गरेको छ ।
उनीहरुमा कोषहरु नबन्ने बनेका कोषहरु पनि वयस्क नहुने र संख्या अनियन्त्रित हुने हुन्छ । बालबालिकामा विषेशगरी रगतको क्यान्सर, एएलएल, एएमएल, ट्युमरहरु, मांसपेसीमा हुने क्यान्सर बढी मात्रामा देखिएको छ । बालबालिकामा हुने क्यान्सरमा वातावरणीय प्रभाव निकै कम पर्ने हुनाले निको हुने सम्भावना निकै बढी हुन्छ ।
बच्चामा नै क्यान्सर भएर निको भएका व्यक्तिहरू अन्य सामान्य व्यक्ति जस्तैं ७०–८० वर्षसम्म बाँच्न सक्छन् । यसरी निको भएका व्यक्तिहरूमा अरु व्यक्ति भन्दा बढी प्रतिबद्ध हुन्छन् । सामान्य व्यक्तिले भन्दा यस्ता व्यक्तिले देशका लागि अझै बढी योगदान पु¥याउन सक्छन् ।
नेपालको सन्दर्भमा प्रत्येक वर्ष १५ सय बालबालिका क्यान्सरबाट पीडित भइरहेका छन् । त्यस मध्ये अस्पताल आएकाबाट ५०–६० प्रतिशत बालबालिका निको बनाएर पठाउने गरेका छौं । तर विकशित मुलुकमा भने ८० प्रतिशत भन्दा बढी निको भएको तथ्यांक छ। हाम्रो जस्तो देशमा कमजोर आर्थिक अवस्था, उपचारमा ढिलाईंजस्ता कारण बाल क्यान्सर निको हुने दर कम भएको हो ।