काठमाडौं । स्वस्थ शरीरका लागि स्वस्थ भोजन आवश्यक छ । स्वस्थ भोजन त्यो हो जुन जुन पोषण तत्वले भरिपूर्ण हुन्छ । शरीरका लागि आवश्यक पोषण तत्वहरूमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि पर्छन्।
शरीरमा प्रोटिनको कमी भएमा कपाल फुल्ने, कपाल झर्ने, टुक्रिने तथा नङ्ग पातलो हुने गर्दछ । प्रोटिनको कमीकै कैयौंलाई पटक पटक भोक लाग्ने गर्दछ । यसको कमी भएमा व्यक्ति बारम्बार विरामी समेत पर्ने गर्छ।
कैयौंको मानसिक स्थितिमा समेत नकारात्मक असर पर्छ। तनाव, डिप्रेसन, चिडचिडापन लगायतको लक्षण देखा पर्ने गर्छ।
प्रोटिनको कमी भएमा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ भने घाउ पुरिन तथा रोग निको हुन समेत समय लाग्ने गर्छ।
यसको कमीकै कारण शरीरमा पर्याप्त मात्रामा एन्जाइमको निर्माण हुँदैन, जसका कारण पाचन प्रणाली समेत प्रभावित हुने गर्छ।
शरीरमा प्रोटिनको कमी भएमा देखिने अन्य लक्षण
-शरीरमा प्रोटिनको कमी भएमा रगतमा सुगरको मात्रा कम हुने गर्छ । जसका कारण मुड बद्लिने, रिस उठ्ने, तनाव उत्पन्न हुने गर्दछ । कतिसम्म भने तनावकै कारण शरीरले कमजोरी तथा थकान महसुस गर्न थाल्छ ।
-शरीरमा प्रोटिनको कमी भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । जसका कारण व्यक्ति बारम्बार विरामी पर्नुका साथै व्यक्तिलाई जीउ दुख्ने समस्या देखा पर्छ ।
-शरीरमा प्रोटिनकै कमी भएमा रगतमा सेतो रक्तकोषिकाका साथै हेमोग्लोविन समेत कमी हुने गर्दछ । रगतमा सेतो रक्तकोषिका तथा हेमोग्लोविनको कमी भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।
-प्रोटिनको कमीका कारण सुन्दरता समेत प्रभावित हुन्छ । प्रोटिनको कमीले कपाल झर्ने, टुक्रने तथा नङ भाँचिनेजस्ता समस्या समेत निम्तन्छ ।
-शरीरमा प्रोटिनको निकै कमी भए जोर्नी समेत दुख्ने गर्दछ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउनसक्छ । जसले गर्दा जोर्नी लचिलो नहुनुका साथै जोर्नी अकडिने तथा दुख्ने गर्दछ ।