बेइजिङ । चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।
साढे २ करोड जनसंख्या रहेको सांघाईमा लामो समयदेखि लकडाउन छ भने अब २ करोड १५ लाख जनसंख्या भएको बेइजिङमा पनि लकडाउनको खतरा बढेको छ। सांघाईमा अझै दैनिक ५ हजार संक्रमित भेटिइरहेका छन्।
चीनमा शून्य कोभिड नीति असफल भए पनि राष्ट्रपति सी चिनफिङ सोही नीतिमा अडिग छन्। गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै सीले शून्य कोभिड नीतिबाट नै कोरोना संक्रमण नियन्त्रण गर्न सकिने भन्दै अन्य देशले चीनको यो नीतिमाथि औंलो उठाउन नसक्ने बताएका छन्।
शून्य कोभिड नीतिअन्तर्गत कोरोना पोजिटिभ आउनेबित्तिकै अनिवार्य रुपमा अस्पताल भर्ना हुनुपर्ने नियम छ।
यसैबीच, संक्रमण अनियन्त्रित हुन नदिन बेइजिङमा कडाइ गरिएको छ। यहाँ हालसम्म लकडाउन घोषणा नगरिए पनि दैनिक १ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। सोहीकारण प्रशासनले २ देखि ९० वर्षसम्मका मानिसलाई अनिवार्य परीक्षणको निर्देशन दिएको छ। यस्तै, ६० वटा सब–वेलाई बन्द गरिएका छन् भने स्कुल, रेष्टुँरा र जिम सेन्टर बन्द गरिएका छन्।
हङकङमा भने दैनिकी सहज हुन थालेको छ। ५ मेदेखि सबै होटल, रेष्टुँरा खुलेको छ भने दुवै डोज खोप लगाइएका मानिसलाई हवाई यात्रामा सहज पहुँच दिइएको छ। २ महिनाअघि यहाँ दैनिक १२ हजार संक्रमित हुने गरेकोमा हाल दैनिक ३ सय संक्रमित भेटिने गरेका छन्। यसको मुख्यकारणमा शून्य कोभिड नीति कार्यान्वयन नगर्नु नै रहेको जनाइएको छ।