काठमाडौं । सामान्यतया गर्भावस्थामा पनि अन्य समयजस्तै खानेकुरा खाने गरिन्छ । तर, गर्भावस्थामा अन्य समयमा भन्दा केही बढी पोषणको आवश्यकता पर्ने भएकाले सामान्य अवस्थामा भन्दा केही बढी खानेकुराको आवश्यकता पर्छ ।
विशेषगरी शरीरलाई सुरक्षा दिने खानेकुराहरू, हरियो सागपात, पहेँलो तथा रातो फलफूल, भिटामिन ए तथा सीयुक्त खानेकुराले शरीरलाई रोगबाट बचाउने गर्छ ।
गर्भ रहेको पहिलो ३ महिनामा १ केजीदेखि ३ केजीसम्म तौल बढ्नु आवश्यक हुन्छ । त्यसपछिका प्रत्येक महिनामा आधा–आधा केजी तौल बढ्दै गएमा त्यो पर्याप्त मानिन्छ । मोटी महिलामा भने आधा केजीको पनि आधा ९चौथाइ केसी० प्रतिमहिना बढेमा पर्याप्त मानिन्छ ।
गर्भावस्थामा खानेकुरामा प्रोटिनको मात्रा एकदमै आवश्यक पर्ने गर्छ । प्रोटिनयुक्त खानेकुराले गर्भमा रहेको बच्चाको वृद्धि–विकासमा विशेष भूमिका खेल्नेगर्छ । त्यसकारण गर्भावस्थामा प्रोटिनयुक्त खानेकुराको आवश्यकता बढी पर्न गएको हो । सामान्यतया गर्भ रहेका वेला जुनसुकै खानेकुरामा त्यति रुचि नहुने भएकाले खानेकुराको मन नभएमा पनि प्रोटिनयुक्त खानेकुरा खानुपर्ने हुन्छ ।
खानेकुरामा त्यति मन नभए पनि आफ्नो तथा बच्चा दुवैको ख्याल गर्नका लागि खानेकुरा खाइरहनुपर्ने हुन्छ । सबै प्रकारका गेडागुडी, दही, माछा, मासु, अण्डाजस्ता खानेकुराहरू प्रोटिनयुक्त खानेकुराको उपयुक्त स्रोत हुन् । दैनिक रूपमा कम्तीमा एकपटक भए पनि प्रोटिनयुक्त खानेकुरा गर्भावस्थामा खानुपर्ने हुन्छ ।
फलामयुक्त तत्त्वको पनि यस अवस्थामा आवश्यकता पर्ने गर्छ । कलेजो, मासु, माछालगायत खाद्यपदार्थमा फलामयुक्त खानेकुरा पाइन्छ । फलामयुक्त तत्त्वले शरीरमा रगत बढाउने काम गर्छ । पशुजन्य खानेकुरामा कलेजोबाट मानिसले फलाम तत्त्वलगायत अन्य पौष्टिक तत्त्वसमेत प्राप्त गर्छन् । गर्भावस्थामा हुन सक्ने रक्तअल्पताबाट बच्नका लागि फलामयुक्त खानेकुराको आवश्यकता पर्न जान्छ ।
हरियो सागपात, फलफूल, गेडागुडीलगायत खानेकुरामा फलामको मात्रा पाउन सकिन्छ । हरियो सागपात, फलफूल गेडागुडीलगायत खानेकुरा खाएका समयमा भिटामिन सीयुक्त खानेकुराहरू खानु पनि गर्भावस्थाका लागि अत्यावश्यक मानिन्छ ।
हरियो सागपात, फलफूल तथा गेडागुडी खाएपश्चात् विशेषगरी शाकाहारी जीवनशैली अपनाउने गर्भवती महिलाले भिटामिन सीयुक्त खानेकुराहरू खानु आवश्यक मानिन्छ । उनीहरूले दालसँग कागती, काँक्रो तथा काचो गोलभेँडाको सलाद खानु राम्रो मानिन्छ । त्यसबाट आइरन तत्त्व पाउन सकिन्छ । माछा, मासु तथा कलेजो खाने गर्भवतीले भने यस्ता खानेकुराको सेवनपश्चात् भिटामिन सीयुक्त खानेकुरा खानु आवश्यक छैन ।