नुवाकोट । स्थानीय तह निर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु हुनु अगाडिसम्म उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँछन्।
नुवाकोटको विदुर नगरपालिकामा पनि उम्मेदवारहरुले आफ्नो अन्तिम प्रचारलाई तीव्र पारेका छन्। विदुर नगरपालिकामा प्रमुखरउपप्रमुखसँगै वडाध्यक्षका लागि पनि सत्ता गठबन्धनका दलबीच तालमेल भएको छ। प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार छन्।
अन्य वडामा भने आपसी सहमति गरेर गठबन्धनका ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाएका छन्।
नगरपालिकाभर समग्रमा सत्ता गठबन्धन र एमालेका उम्मेदावरबीच प्रतिस्पर्धा हुने देखिएको छ। तर, वडा नम्बर ६ को माहोल भने फरक छ।
वडा नम्बर ६ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राम काजी दिक्षित उम्मेदवार छन्। एमालेले श्यामकृष्ण चालिसेलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुप्रसाद अर्याल वडाध्यक्षको उम्मेदवार छन्।
२०७४ को निर्वाचनमा विदुर ६ को वडाध्यक्षमाम एमालेका उम्मेदवार विजयी भएका थिए। पार्टी विभाजन हुँदा विदुर–६ का वडाध्यक्षले एकीकृत समाजावादी रोजे।
एमाले विभाजनको असर देखिएको र अर्को प्रतिस्पर्धी दल नेपाली कांग्रेसले आफ्नो उम्मेदवार नउठाएका कारण विदुर–६ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।
वडाध्यक्षको त्रिपक्षीय भिडन्तमा राप्रपाबाट उम्मेदवार बनेका अर्याल निर्णायक बनेका छन्। लामो समय शिक्षण पेसामा सक्रिय अर्याल स्थानीयस्तरमा ुहेडसरु नामले चिनिन्छन्।
राजनीतिमा सक्रिय हुनु अगाडिदेखि नै सामाजिक काममा सक्रिय रहेका अर्याल अहिलेको चुनावबाट जनताले आफूलाई वडाध्यक्षको रुपमा सेवा गर्न मौका दिनेमा विश्वस्त छन्।
अर्यालले वडालाई समृद्ध बनाउने योजना समेत अगाडि सारेका छन्। उनले ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा घरमै गएर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनेदेखि विपन्न व्यक्तिलाई वडा तथा जिल्ला बाहिर गएर उपचार गराउनुपरे निस्शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने योजना अगाडि सारेका छन्।
यस्तै, आगामी शैक्षिक शत्रदेखि नै हरेक वर्ष कम्तीमा एक जना चिकित्सक वा इन्जिनियर, एक जना नर्स, एक जना जेटिए तथा भेटेनरी डाक्टर उत्पादनका लागि छात्रवृत्तिको व्यवस्था वडाबाटै गर्ने पनि उनको अजेन्डा छ।
भौतिक पूर्वाधारसँगै वडाको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने उनको योजना छ। वडामा रहेको स्वास्थ्य चौकीमा चिकित्सकसहित प्रसूति सेवा उपलब्ध गराउने पनि उनको योजना छ।
निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म वडामार्फत् ३ हजार रुपैयाँका दरले मासिक भत्ता उपलब्ध गराइने योजना बनाएका अर्यालले जन्म दर्ताको कागजपत्र होमडेलिभरी गराइने बताए। सम्बन्धित विद्यालयमै चिकित्सकसहितको टोली पठाएर हरेक ६ महिनामा विद्यार्थी र शिक्षकको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गराउने पनि उनको योजना छ।