काठमाडौँ । आफू आमाबाबु भएको र आफूसँग स्वस्थ शिशु खेलेको हेर्ने रहर हरेक विवाहित जोडीको हुन्छ । तर, गर्भ तुहिने अथवा खेर जाने समस्याले धेरैको यो सपना तुहाउन सक्छ ।
अहिले नेपालमा १५ देखि २० प्रतिशत महिलाको गर्भ खेर जाने गरेको विभिन्न अध्ययनले देखाएका छन् । व्यक्तिको लापरवाही, विभिन्न रोग, शारीरिक अवस्था आदिका कारण गर्भ खेर जान सक्छ ।
सामान्यतया गर्भ रहेको २०औं हप्ताभन्दा अगाडि मिसक्यारेज अथवा गर्भ खेर जान सक्छ । पहिलो तीन महिनामा विभिन्न कारणले हरेक महिलाको गर्भ जाने सम्भावना रहन्छ । गर्भधारणको पहिलो चरण अर्थात् पहिलो २० दिनमा महिलाहरुलाई आफू गर्भवती भएको थाहा नै हुँदैन । यस समयमा महिलाहरु सजग नहुँदा गर्भ जाने सम्भावना बढी रहन्छ । त्यसैले गर्भ रहेनरहेको बारे महिलाहरु सजग हुनु जरुरी छ ।
गर्भ खेर जानुका मुख्य कारण
काठमाडौं । पहिलो तीन महिनामा भ्रूणको अवस्था कमजोर र असामान्य भएमा गर्भ खेर जान सक्छ । तर दोस्रो तीन महिनामा भने गर्भवती महिलाको आहारविहार र पालनपोषण राम्रो नभएमा नै गर्भ खेर जाने गर्छ । जिनसम्बन्धी समस्या, सालनालको अवस्था, योनिमा लगातार संक्रमण हुनु, गलत औषधि खानु आदि गर्भ जानुका कारण हुन् ।
प्रथम त्रैमासमा ९० प्रतिशत गर्भ खेर जानुको कारण जिनसम्बन्धी समस्या हो । धेरै भागदौड गर्नु, खानपिनमा ध्यान नदिनु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु, एक बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहनु आदि गर्भ खेर जानुका कारण हुन् ।
२० वर्षका महिलाको तुलनामा ४० वर्ष उमेरमा महिलाको गर्भ खेर जाने सम्भावना २० गुणा बढी हुन्छ । अर्थात् उमेर ढल्किँदै गएपछि महिलाको प्रजनन क्षमतामा ह्रास आउँछ र गर्भ खेर जान सक्छ । त्यस्तै, पहिला एक पटक गर्भ खेर गइसकेको छ भने महिलाले सही उपचार नपाएको खण्डमा पुनः गर्भ खेर जाने सम्भावना त्यतिकै रहन्छ । मधुमेह, हर्निया, उच्च रक्तचाप, थाइरोइड आदि रोगका कारण पनि गर्भ खेर जान सक्छ ।
रगत अथवा पेट र पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको पनि गर्भ खेर जाने सम्भावना रहन्छ । त्यस्तै, तनाव बढी लिएमा र शरीरको हार्मोनमा अचानक कमी अथवा विकार आएमा गर्भ खेर जान सक्छ । मद्यपान, धूमपान र क्याफिनको बढी सेवनले पनि गर्भ खेर जाने जोखिम बढाउँछ । त्यस्तै, वंशाणुगत समस्याका कारण पनि गर्भ खेर जान सक्छ ।
पाठेघर सानो भएमा, पाठेघरको मुख खुकुलो भएमा र पाठेघरमा संक्रमण भएमा पनि गर्भ खेर जान्छ । कसैकसैलाई पतिको वीर्य नफाप्ने अथवा रज र वीर्यको प्रकृति नमिल्नाले पनि गर्भ खेर जान सक्छ । हाडनातामा गरिएको विवाह गर्भ खेर जानुको कारण हुन सक्छ । गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुँगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु आदि पनि गर्भ जानुका कारण हुन् । तनावयुक्त जीवनशैली र विषादियुक्त खानाले पनि गर्भ खेर जान सक्छ । त्यस्तै, निरन्तर उभिरहनुपर्ने काम गर्ने महिलाको पनि गर्भ खेर जान सक्छ । शरीर निष्क्रिय भएमा पनि गर्भ खेर जाने सम्भावना रहन्छ ।