काठमाडौं । आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णय अनुसार आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ। अस्पतालमा आजबाट आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द हुने भएको हो।
केही अस्पतालहरुले भने आइतबार पनि ओपिडी सेवा दिने निर्णय गरेका छन्। कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पतालले आइतबार पनि ओपिडी सेवा दिने निर्णय गरेका छन्।
आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९स्३० बजे देखि साँझ ५:३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० बजे देखि अपरान्ह ४स्३० बजेसम्म मात्रै कायम हुनेछ।
यस्तै निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगाएतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भएको छ।
यस्तै सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने भएको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको थियो।
स्वास्थ्यसँग सम्बन्धित संघरसंगठनहरुले भने सातामा दुई दिन बिदा दिँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको अत्यधिक कार्यबोझ घट्न गइ सेवामा प्रभावकारिता आउने भन्दै सातामा दुई दिन बिदा दिने निर्णयको स्वागत गरेका थिए।