काठमाडौं । आज पनि धेरैजसो मानिसहरु सेक्ससम्बन्धी समस्याको बारेमा कुरा गर्न हिचकिचाउँछन् । आजभोलि मानिसमा तनाव, चिन्ताको स्तर यति बढेको छ कि यसको कारणले पनि यौन स्वास्थ्यमा नकारात्मक असर परेको छ। तनाव वा अन्य मानसिक समस्याले मानिसमा यौन दुर्बलता (सेक्सुअल डिस्फङ्सन) निम्त्याउँछ। यौन दुर्बलता के हो ? तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ त ?
यौन दुर्बलता र यसका कारणहरू
यौन दुर्बलता भनेको एक प्रकारको यौन रोग नै हो। यस्तो अवस्थामा सेक्सको इच्छा कम हुन थाल्छ। यौन दुर्बलता जुनसुकै उमेरका मानिसहरूमा हुन सक्छ। तर, उमेरसँगै यसको सम्भावना पनि बढ्दै जान्छ। तनाव यौन दुर्बलताको ठूलो कारण हो। यसबाहेक यौन आघात, मधुमेह, मदिरा, निश्चित औषधिको सेवन, मुटु वा अन्य शारीरिक रोगका कारण पनि यौन दुर्बलता हुन सक्छ। यौन दुर्बलतामा कम यौन इच्छा, यौन उत्तेजनामा कमी वा समस्या, स्खलनमा समस्या, योनीमा दुखाइ जस्ता समस्याहरू समावेश छन्।
तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ ?
सेक्स तनाव कम गर्ने उत्तम उपाय हो। यसले एन्डोर्फिनलगायत अन्य हर्मोनहरू निकाल्छ, जसले मुड सुधार गर्छ। तर, अर्कोतर्फ तनाव र चिन्तामा हुनुले तपाईंको यौन स्वास्थ्यलाई पनि नराम्ररी असर गर्न सक्छ। तनावका कारण पुरुषलाई इरेक्टाइल डिसफङ्शन हुने सम्भावना हुन्छ। तनावले पुरुष र महिलाको यौन स्वास्थ्यलाई असर गर्छ।