काठमाडौं । बच्चाहरुले अक्सर ओछ्यानमा पिसाब फेर्ने गर्छन् । कतिपयले पिसाब नियन्त्रण गर्न सक्दैनन् ।
निश्चित अवधीपछि बच्चाले ओछ्यानमा पिसाब फेर्न छाड्नुपर्ने हो, जब उनीहरु पिसाब आएको कुरा व्यक्त गर्न सक्छन् । बोल्न नसकेपनि छटपटाउने वा कुनै माध्यामबाट पिसाब आएको जनाउ दिन सक्छन् ।
बच्चा ठूलो हुँदै गएपछि उनीहरुको यो बानीमा पनि परिवर्तन आउँछ । ओछ्यानमा पिसाब फेर्न छाड्छन् । तर, सबैमा यस्तो हुँदैन । कतिपय बच्चाले पिसाब नियन्त्रण गर्न सक्दैनन् । यसलाई चिकित्साको भाषामा ‘ब्लाडर कन्ट्रोल प्रब्लम’ भनिन्छ । यो जुनसुकै बेला पनि हुनसक्छ ।
२ वा ४ बर्षको उमेरदेखि पिसाब नियन्त्रण
सामान्यतया बच्चाहरुले २ देखि ४ वर्षको उमेरमा नै पिसाबको थैलीलाई नियन्त्रण गर्न सिक्छन् । कुनै कुनै बालबालिकामा ६ वर्षको हुदाँ सम्म पनि यो समस्या जारी रहन सक्छ । यस अवस्थामा भने उपचार खोज्नुपर्ने हुन्छ ।
हुन त यस्तो समस्या बढ्दो उमेरसँगै हटेर जान्छ । तर कुन कुनै व्यक्तिलाई विभिन्न कारणले यो समस्या उमेर बढ्दा समेत रहिरहनसक्छ । कसैलाई लामो समयसम्म पनि ओछ्यानमा पिसाब फेर्ने समस्या हुन्छ भने चिकित्सककहाँ पुर्याउनै पर्छ ।
किन हुन्छ यस्तो ?
यस्तो समस्या विभिन्न कारणले हुनसक्छ । हामी सोच्छौ, बच्चाले पिसाब फेर्न अल्छी लागेर ओछ्यानमा फेरिदियो । तर, हाम्रो भ्रम हो त्यो । वास्तवमा बच्चाले पिसाब नियन्त्रण गर्न नसक्नु उसको अल्छीपना होइन, शारीरिक समस्या हो ।
चिकित्सकिय भाषामा पिसाब थैली नियन्त्रणको समस्यालाई पिसाबको अस्थिरता वा इनुरेसिस पनि भन्ने गरिन्छ ।बालबालिकामा हुने समस्या दुई किसिमको हुन्छ ।
दिउँसो पिसाब नियन्त्रण गर्न हुने समस्यालाई डे टाईम वेटिङ अर्थात डिउरनर इनुरेसिस भनिन्छ भने ओछ्यानमा पिसाब हुने समस्यालाई नक्टर्नर इनुरेसिस भन्ने गरिन्छ । कुनै कुनै बच्चामा यो समस्या दिउसो र राती दुवै समयमा हुनसक्छ ।