एजेन्सी । महिनावारीका बेला धेरैजसो किशोरी वा महिलालाई महिनावारी समयमा नहुने, धेरै दुखाइ हुने, दुखाइका कारण दिनचर्यामा समस्या आउने, अत्यधिक रक्तश्राब हुने गुनासो गरिरहेका हुन्छन्।
साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु भई ४५ देखि ५५ वर्षको उमेरमा सकिन्छ । २१ देखि ३५ दिनको अन्तरमा महिनावारी हुने गर्छ । हरेक महिना एकपटक हुने महिनावारीमा दुईदेखि सात (औसतमा पाँच दिन) सम्म रगत बग्ने हुन्छ । महिनावारी हुँदा अत्यधिक रक्तश्राव (हाइ मेन्स्ट्रुअल ब्लिडिङ) वा मेनोर्राजियाका कारण धेरैजसो महिलाहरू प्रसूति तथा स्त्रीरोग विशेषज्ञको सहयोग लिन अस्पताल पुग्ने गर्छन् ।
महिनावारीको समयमा अत्यधिक रगत बगेमा, पटकपटक सेनिटरी प्याड परिवर्तन गर्नु परेमा, कपडामा दाग लागेमा, गम्भीर दुखाइ भएमा, दैनिक वा सामान्य गतिविधि गर्न समस्या भएमा महिनावारीमा अत्यधिक रक्तश्रावको समस्या भएको हुनसक्छ । महिनावारीमा अत्यधिक रक्तश्राव विभिन्न कारणले हुने गर्छ ।
मधुमेह, मोटोपना तथा थाइराइडको समस्या भएमा, हर्मोनल परिवर्तन भएमा, पिसिओसको समस्या भएमा, युटेराइन पोलिप, फाइब्रोइड्स, पाठेघर वा पाठेघरको मुखको क्यान्सर वा एडिनोमायोसिस भएमा, परिवार नियोजनको साधनको प्रयोगका कारण साडइ इफेक्ट भएमा, केही रोग वा इनहेरिटेड ब्लिडिङ डिसअर्डरका कारण महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुनसक्छ ।
महिनावारीमा हुने उच्च रक्तश्रावले हरेक महिलालाई प्रभाव पार्नुका साथै विभिन्न समस्या निम्त्याउन सक्छ । यसले एनिमिया पनि निम्त्याउन सक्छ । हरेक घण्टा एक वा बढी सेनिटरी प्याड परिवर्तन गर्नुपरेमा, एकै पटकमा दुईवटा सेनिटरी प्याडको प्रयोग गर्न आवश्यक भएमा, रातको समयमा सेनिटरी प्याड परिवर्तन गर्न पटकपटक उठ्नुपरेमा, एक हप्ताभन्दा बढी रक्तस्राव भएमा, ढिकाढिका रगत जाने, रगतसँगै चोक्टा पनि निस्कने, दैनिक गतिविधिमा समस्या हुन थालेमा, थकान, उर्जाको कमी वा सास फेर्न गाह्रो हुने जस्ता एनेमियाका लक्षणहरू देखापरेमा चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ ।
समस्याको कारणमा निर्भर भई महिनावारीमा हुने उच्च रक्तश्रावको समस्यालाई औषधिको सेवन गरी, शल्यक्रिया वा अन्य प्रक्रियाबाट उपचार गर्न सकिन्छ ।