काठमाडौं । भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा विभिन्न क्षेत्रमा कार्यरत्त व्यक्तिहरु भाग लिएका थिए । उक्त निर्वाचनमा देशमा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत्त स्वास्थ्यकमीहरु समेत होमिए ।
त्यसरी चुनावमा होमिएका स्वास्थ्यकर्मीहरु कतै जित हांसिल गर्न सफल भएका छन् भने कतै हार व्यहोरेका छन् ।कुन स्थानीय तहमा को स्वास्थ्यकर्मी जित हांसिल गर्न सफल भए त्यसको चर्चा गरिएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा जनस्वास्थ्यकर्मी सन्तोषप्रकाश जोशी निर्वाचित
बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा जनस्वास्थ्यकर्मी सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत डीलासैनी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी ३,१८९ मत ल्याई विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार लोकेन्द्र बहादुर रानालाई ५३८ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेन्द्र बहादुर रानाले २,६५१ मत ल्याएका छन्।
स्वास्थ्यकर्मि ओली खजुरा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा निर्वाचित
बाँकेका स्वास्थ्यकर्मि धनीराम ओली खजुरा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्। उनि भेरी अस्पताल विकास समितिका सदस्य थिए।
माओवादी केन्द्रका उम्मेदवार ओलीले एमाले उम्मेदवारलाई हराएर जीत हात पारेका हुन्।
ओलीले २४२९ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार समरबहादुर खत्रीले २०५१ मत ल्याएर पराजित भए।
स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित
स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।
चौधरी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपलाको जिल्ला कार्यसमिति सुनसरीकी सदस्य समेत हुन्। चौधरीले निर्वाचनमा ८७१ मत ल्याएर जित हासिल गरेकी छिन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा कुमारी खाँले ८५३ मत ल्याएकी छिन्।
नगरपालिकाको मेयर बने चिकित्सक यादव
सिरहा नगरपालिकाको मेयरमा मेडिकल चिकित्सक डा नवीन यादव निर्वाचित भएका छन्। उनी नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन्। उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याए। मेयरमा निर्वाचित डा यादव नेकपा एमालेका नेता हेमनारायण यादवका हुन्। हेमनारायण २०६० साल माघ १९ गते मारिएका थिए।डा यादव सिरहा सदरमुकाममा क्लिनिक चलाउँछन्। उनी २०७४ को निर्वाचनमा पनि मेयरमा उम्मेदवार भए पनि पराजित भएका थिए।
उपमेयर बनिन् मेडिकल काउन्सिलको पूर्व प्रशासन प्रमुख
मेडिकल काउन्सिलको प्रशासन प्रमुखको पद छाडेर निर्वाचनमा होमिएको अनिता लामा बुढानीलकण्ठ नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन्। उनी एमालेका तर्फबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।
लामाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रमिला वाग्लेलाई पराजित गरेकी हुन्। लामाले कुल १४ हजार ३१४ मत ल्याइन् भने वाग्लेले ११ हजार ९७२ मत प्राप्त गरिन्।
बुढानीलकण्ठको प्रमुख र अधिकांश वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। प्रमुखमा एमालेकै मिठाराम अधिकारी निर्वाचित भएका छन्।