अस्पतालमा दैनिक रुपमा बिरामी हेर्ने क्रममा निःसन्तान दम्पतीका कतिपय समस्या निकै कारुणिक पाइन्छन् । कतिपय अवस्थामा साधारण जाँच र दम्पतीसँग गर्भ प्रक्रियाबारे छलफल गरेकै भरमा पनि समस्या सल्टिन्छ ।
पछिल्लो डेढ–दुई दशकदेखि वैदेशिक रोजगारका कारण देशको आर्थिक अवस्थामा धेरै सुधार आएको देखिन्छ तर सामाजिक अस्तव्यस्तता भने अकल्पनीय रुपमा खल्बलिएको पाइन्छ ।
एकातिर विवाहइतर यौनसम्बन्धका कारण गर्भपतन तथा यौनहिंसा, महिला हिंसा, सम्बन्ध विच्छेदका घटना बढ्दो छ भने अर्कोतिर वैदेशिक रोजगारी विशेषतः खाडी मुलुकबाट फर्किएका पुरुषहरुमा निःसन्तानको समस्या बढी देखिन थालेको छ ।
विस्तृत अध्ययन, अनुसन्धान भइसकेको नभए पनि उच्च तापक्रममा काम गर्नुपर्ने बाध्यताका कारण शुक्रकीट उत्पादनमा खलल पुगेर पनि यसो भएको हुन सक्ने अनुमान गरिएको छ । साथै लामो समयसम्म घरबाहिर रहनुपर्ने र नियमित यौनसम्बन्धबाट टाढा रहनुपर्दाको कारणले पनि यसो हुन गएको आँकलन गरिएको छ ।
त्यसै पनि करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या हुन सक्छ । निःसन्तान हुनाको कारणमा करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्दैन ।
६ महिनाअघिको साधना हेल्थ एन्ड ब्युटी मासिकमा महिलाजन्य निःसन्तानको समस्याबारे उल्लेख गरिसकेकाले यसपटक पुरुषजन्य निःसन्तानका कारणहरु, पुरुषको कारण हुने निःसन्तानको जाँच पड्ताल एवं उपचारको चर्चा गरिएको छ ।
निःसन्तानका कारण
शुक्रकीट बन्ने प्रक्रियामा समस्या, बनिसकेको वीर्य बाहिर आउने बाटोमा समस्या, योनिमा वीर्य स्खलन हुन समस्या तथा शुक्रकीटको बनावटमा समस्या पुरुषजन्य निःसन्तानका प्रमुख कारणहरु हुन् । अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकीट बन्न अप्ठ्यारो पर्न सक्छ ।
त्यसै गरी शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिने हुन सक्छ ।
मानसिक समस्या (लिंग नउठ्ने वा उत्तेजित नहुने, शीघ्र स्खलन हुने) तथा पुरुषमा पिसाब खुल्ने प्वाल बेठाउँमा भयो भने वीर्य योनिमा जम्मा हुन पाउँदैन । त्यस्तै शुक्रकीटको चाल, संख्या, बनावटमा समस्या हुँदा र शुक्रकीटमा पोषिलो पदार्थ नपुग भयो भने पनि निःसन्तानको समस्या हुन सक्छ ।
एक वर्षसम्म नियमित रुपमा कुनै साधन प्रयोग नगरी सहवास गर्दा पनि बच्चा नभएमा जाँच पड्ताल गराउनु राम्रो हुन्छ । यदि महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघिसकेको छ र ६ महिनासम्ममा बच्चा भएन भने सम्बन्धित चिकित्सककहाँ जँचाउनुपर्दछ ।
विवाहको दोस्रो वर्षपछि प्रजनन क्षमता दरमा निकै कमी हुने हुनाले चाँडै स्वास्थ्य परीक्षण गराउनुपर्दछ । सामान्य जानकारी एवं सल्लाहबाट ठीक पार्न सकिने समस्याहरुका लागि ढिलो गर्नुहुँदैन ।
बाँझोपनको जाँच
प्रभावित व्यक्तिको उमेर, विवाहित समय, पहिले विवाह गरिसकेको वा नगरेको थाहा पाउन जरुरी हुन्छ । साथै धूमपान वा मद्यपान गर्ने बानीबारे पनि जानकारी आवश्यक पर्छ । यौनरोग, हाँडे, मधुमेह, अण्डकोषवरिपरि हाल कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको भए त्यसको पनि जानकारी आवश्यक पर्छ ।
लामो समयसम्म तापमा बसी गर्नुपर्ने कार्यबारे पनि जानकारी आवश्यक पर्छ । यौनसम्पर्कका दौरान यौनाङ्ग उठाउन (उत्तेजित पार्न), राम्रोसँग प्रवेश गराउन तथा वीर्य स्खलनसम्बन्धी कुनै समस्या छ/छैन, पत्ता लगाउनुपर्दछ । शारीरिक जाँचको क्रममा यौनाङ्गको पनि राम्ररी जाँच गर्नुपर्दछ ।
त्यसपछि वीर्य जाँच (सकिन्छ भने तीन दिनसम्म सहवास नगरी) गरी शुक्रकीटको संख्या, शुक्रकीटको चाल, बनावट तथा अन्य कुनै पिप वा संक्रमण छ/छैन, थाहा पाउनुपर्दछ । कतिपय पुरुषको वीर्यको सामान्य जाँचपछि रगतमा अन्य हर्मोन (शुक्रकीट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने) सम्बन्धी जाँच, अण्डकोष तथा वरिपरिको भिडियो एक्सरे, अण्डाशयबाट थोरै मासु निकालेर गरिने जाँच (बायोप्सी) वा सियो हालेर गरिने कोषको जाँच एवं वंशाणु अंशबारे जाँच गर्नुपर्ने हुन सक्छ ।
निःसन्तानको उपचार
पोषिलो खाना खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने तथा धूमपान, मद्यपान त्याग्नुका साथै यौनाङ्गवरिपरि बढ्ता न्यानो हुने गरी वा तातो बनाउने कसिलो कट्टु लगाउनुहुँदैन ।
दिनहुँ पटक–पटक यौनसम्पर्क राख्दा वीर्यको गुणस्तर घट्ने हुनाले निःसन्तानको समस्या भएकोमा मासिक श्रावको उर्वरा समय ख्याल राखी मात्र शारीरिक सम्पर्क राख्नुपर्दछ । सम्बन्धित चिकित्सकबाट यससम्बन्धी प्रस्ट जानकारी पाउन सकिन्छ ।
मासिक श्रावको उर्वरा समय ठ्याक्कै थाहा पाउन आवश्यक परे आफ्नो कोठाको भित्तेपात्रो (क्यालेन्डर) मै चिनो लगाइराख्नुुपर्दछ । भिटामिन ई, सी तथा बी १२, फोलिक एसिडयुक्त खानेकुराले शुक्रकीट बन्न मद्दत गर्दछ ।
पुरुषको शरीरमा रहेको हर्मोनको उतारचढावको कारण शुक्रकीट उत्पादनसम्बन्धी गम्भीर समस्याको व्यवस्थापन उचित तवरले गर्नुपर्दछ । जनेन्द्रिय तथा वीर्यमा संक्रमणको छनक मिले त्यही अनुरुपमा गर्नुपर्दछ ।
वीर्यमा शुक्रकीटको संख्या कम छ भने कृत्रिम रुपमा वीर्य निकाली सामान्य सरसफाइपछि विशेष किसिमको पाइप (क्याथेटर) बाट महिलाको पाठेघरमा राखिदिन सकिन्छ । तर वीर्यमा शुक्रकीट छँदै छैन भने दम्पतीको आपसी सल्लाहमा अन्य पुरुषको वीर्य प्रयोग गरेर बच्चा पाउने तथा धर्मपुत्र/पुत्री पाल्नुको विकल्प छैन ।
अण्डाशयबाट गरिएको मासुको जाँच (बायोप्सी) मा भेटिएको अपरिपक्व शुक्रकीटलाई विशेष उपचारपछि विशेष सूक्ष्मदर्शक यन्त्रको सहयोगले महिलाले उत्पादन गरेको डिम्बभित्र छिराई कृत्रिम गर्भाधान गराउने उपाय इक्सी (इन्ट्रा साइटोप्लाज्मिक स्पर्म इन्जेक्सन) गर्न सकिन्छ । यो प्रविधि खर्चिलो एवं नेपालमा उपलब्ध नहुन पनि सक्छ ।
शीघ्रपतन, लिंग नउठ्ने तथा योनिभित्र लिंग प्रवेश गराउन समस्या भएकामा मनोवैज्ञानिक परामर्श दिनुपर्दछ । अण्डकोषमा पानी भरिएको (हाइड्रोसिल), अण्डाशयबाट रगत फर्काएर लाने शिरा झोलिएको तथा हर्नियाको समस्या भएकोमा सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ । यी उपचारबाट सामान्य सुधार हुन सक्छ ।
विनाकारण निःसन्तान
करिब १० प्रतिशतमा विनाकारण पनि निःसन्तानको समस्या हुन सक्छ । विस्तृत जाँच पड्तालपछि पनि कुनै कारण खुट्याउन सकिँदैन । यस्तो महिलामा डिम्बवाहिनी नली खुल्ला छ/छैन भनी गरिने सामान्य जाँचपश्चात् प्राकृतिक यौनसम्पर्कबाट मात्र पनि गर्भ रहन सक्छ ।
कतिपय दम्पतीमा भने पुरुषको वीर्य सामान्य छ तथा महिलाको दुवै डिम्बवाहिनी नलीहरु खुल्ला छ भन्ने प्रमाणित भएपछि डिम्ब बढी उत्पादन हुने औषधि सेवनपछि प्राकृतिक यौनसम्पर्कबाट वा कृत्रिम गर्भाधानबाट गर्भ रहन सक्छ ।
निःसन्तानका समस्या भएका दम्पतीमा जाँच पड्तालको दुई वर्ष अवधिमै ३०–४० प्रतिशतले गर्भाधान हुन सक्छ । यदि कृत्रिम गर्भाधानको सहायता लिएको खण्डमा यो सफलता ६० प्रतिशतसम्म पुग्दछ ।
कृत्रिम गर्भाधानका कारण कहिलेकाहीँ गर्भ तुहिने, पाठेघरबाहिर गर्भ रहने सम्भावना दोब्बर र शिशु वा नवजात बच्चाको मुत्यु हुने सम्भावना पनि दोब्बर हुन्छ ।
नेपाल समाचार पत्र बाट