के हो प्लास्टिक सर्जरी ?
प्लास्टिक सर्जरी भनेको कस्मेटिक सर्जरी हो भन्ने आम धारणा रहेको छ । साधारण जनमानसमा मात्र नभई धेरै स्वास्थ्यकर्मीमा पनि प्लास्टिक सर्जरी बारेमा कम ज्ञान भएको मैले पाएको छु। प्लास्टिक सर्जरी आफैमा एक नयाँ विधा भएको र नेपालमा झन् प्लास्टिक सर्जरी पठनपाठन हुन थालेको केही वर्ष मात्र भएकोले प्लास्टिक सर्जरीबारे अझै पनि आम मानिसहरु प्रष्ट हुन सकेका छैनन् ।
कस्तो अवस्थामा प्लास्टिक सर्जरी गराउने
कतिपय बच्चा जन्मँदै ओठ खुँडे भएका हुन्छन् भने कतिपयको तालु फाटेको हुन्छ । आगोले पोलेका मानिसको पनि हात खुँडो हुने टाँसिनेलगायत विविध समस्या हुने गर्छन् । त्यसका लागि पनि प्लास्टिक सर्जरीको आवश्यकता पर्छ ।मुख्यतया प्लास्टिक सर्जरीले एउटा त घाउ, चोटपटक लागेको ठाउँमा पुर्ने काम गर्छ भने अर्कोतर्फ त्यसका कारणले आउने विभिन्न समस्या, नसामा आउने समस्या हटाई काम गर्ने बनाउन उपचार गर्छ । उपचारपश्चात् बिरामी सामान्य अवस्थामा आउने गर्छन् ।
प्लास्टिक सर्जरीमा कुन–कुन सर्जरी बढी हुने गरेका छन् ?
प्लास्टिक सर्जरीमा पनि दुईवटा भाग छन्– एउटा प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जरी, अर्को कस्मेटिक सर्जरी । यी दुईमध्ये प्लास्टिक रिकन्स्ट्रक्टिभ प्लास्टिक सर्जरीमा धेरै चलेको सर्जरीको प्रकार हो । यसप्रकारको सर्जरीमा जन्मजात खुँडो भएका, विभिन्न अंगका क्यान्सरका कारण उक्त अंग नै खेर फाल्नुपर्ने अवस्थालगायतमा पुरानै अवस्थामा पुर्याउनका लागि प्लास्टिक रिकन्स्ट्रक्टिभ सर्जरी गर्न सकिन्छ ।
यसका साथै पुरुषमा स्तन ठूलो हुने समस्या, जसलाई गाइनोकोमास्टिया भन्ने गरिन्छ, पुरुषमा हर्मोनको सन्तुलन नहुँदा पनि यो प्रविधि उपयोगमा आउँछ । यस्तो समस्या भएका पुरुषमा टाइटखालका लुगा लगाउँदा स्तनको आकार महिलाको जस्तै देखिने गर्छ । यस्तो अवस्थामा शल्यक्रिया गरेर सानो बनाउन सकिन्छ । यस्तो समस्या भएका पुरुषमा शल्यक्रिया गर्दा पुरुषको स्तनभित्र रहेको टिस्यु र बोसो निकाल्ने गरिन्छ, जसले पुरुषको स्तनलाई समथर बनाउने काम गर्छ ।
प्लास्टिक सर्जरीका लागि आवश्यक आधारभूत कुराहरू भए पनि एकदमै विकसित खालको प्रविधि भने नेपालमा उपलब्ध छैनन् । विश्वस्तरमा जस्तै सबै प्रकारको अत्याधुनिक प्रविधिको प्रयोग अझै पनि नेपालमा भइसकेको छैन ।
अनुहार तथा बाहिरी आवरणलाई राम्रो बनाउन गरिने सर्जरी कस्मेटिक सर्जरी हो । यो मानिसले आफ्नो सन्तुष्टिका लागि गर्ने गर्छन् । कस्मेटिक सर्जरीले मानिसमा आत्मविश्वास बढाउने गर्छ ।
व्यक्तिले आफ्नो शरीरका कुनै पनि अंग, विशेषगरी अनुहारमा केही नमिलेजस्तो लाग्यो भने प्लास्टिक सर्जनको सल्लाहमा उनीहरू कस्मेटिक सर्जरीमा जान सक्छन् । कतिपय मानिस अनुहारमा केही नमिलेको अंग भएमा डिप्रेसनमा समेत जाने गर्छन् । अनुहारमा नमिलेको कुनै पनि अंगलाई प्लास्टिक सर्जनले कस्मेटिक सर्जरी गरी मिलाउन सक्छ । प्लास्टिक सर्जनले एकपटक देखाउँदैमा त्यस्ता कतिपय समस्याको समाधान गर्न सकिन्छ ।कस्मेटिक सर्जरीमा विभिन्न कुरा पर्छन् । उदाहरणका लागि परेला मिलाउने काम कस्मेटिक सर्जरी हो ।
नेपालका प्लास्टिक सर्जरीको के कस्ता सुविधा पाउन सकिन्छ ?
नेपालमा पछिल्लो समय प्लास्टिक सर्जरीको क्षेत्रमा थुप्रै परिवर्तन भइसकेको छ । प्लास्टिक सर्जनहरु कम छन् तर पनि यसमा धेरै विकास भइसक्यो। नेपालमा काटिएको हात तथा औंला जोड्ने सम्मका कामहरु हुन थालेका छन् । प्लास्टिक सर्जरीका लागि विदेश धाउनुपर्ने अवस्थाको लगभग अन्त्य भइसकेको छ ।