काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०७७/७८ को स्वास्थ्य नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
त्यसमा स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/२०८७ कार्यान्वयन गर्ने, जेष्ठ नागरिकको स्वास्थ्य सेवा सुनिश्चितताका लागि एक विशिष्टकृत अस्पताल स्थापना गरि सञ्चालन गर्ने, पुराना र जीर्ण अवस्थामा रहेका २०० बढी स्वास्थ्य संस्थाहरुको नयाँ मापदण्ड अनुसार पुनर्निर्माण गरिने, प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने कार्यक्रम गर्न र स्वास्थ्य संस्थामा हुने सबै मृत्युको अनिवार्य अडिट गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिँदैछन्।
रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोलको स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुलाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत कानूनहरुको तर्जुमा गर्ने कार्यक्रम पनि प्रस्ताव गरिएको छ।
स्वदेशी औषधि उद्योगहरुलाई प्रवर्धन गर्ने, अत्यावश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने, सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता अभिवृद्धि गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरुको आपूर्तिलाई आत्मनिर्भर बनाउने, रक्तसञ्चार सेवालाई व्यवस्थित र सर्वसुलभ बनाउन सातवटै प्रदेशमा सरकारी स्वामित्वको व्लड बैंक स्थापना गर्ने, शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिका लागि प्रत्येक प्रदेशमा एक एक वटा पुनःस्थापना तथा प्रसामक केन्द्र स्थापना गर्ने, सातवटै प्रदेशमा औषधि प्रयोगशाला, औषधि व्यवस्था विभागका कार्यालय स्थापना गर्ने लगायतका विषय पनि प्रस्ताव गरिएको छ।