काठमाडौं । मंकीपक्स एउटा दुर्लभ र आमरुपमा हल्का संक्रमण गराउने खालको भाइरस हो । यो सुरुसुरुमा अफ्रिकाको केही भागका जंगली जनावरमा पाइएको थियो । १९५८ मा पहिलोपटक एउटा बाँदरमा यो भाइरस देखिएको बताइन्छ । यो भाइरस पहिलोपटक १९७० मा मानिसमा समेत सरेको पुष्टि भयो ।
यूकेबाट सञ्चालित एनएचएस वेबसाइटका अनुसार, यो रोग दादुरा ,बिफर (चेचक) वंशकै एउटा रोग हो र यसमा शरीरमा विशेष किसिमका फोका देखापर्छन्।
युरोपेली देशहरुमा मंकीपक्स संक्रमितहरु देखिने क्रम बढ्दै गइरहेको छ, भने हालै अमेरिकामा पहिलो मंकीपक्स संक्रमित पुष्टि भएको छ। सो संक्रमित क्यानाडाबाट फर्किएको थियो। तर त्यहाँ मंकीपक्स संक्रमितसँग सम्पर्क थियो/ थिएन यकिन भने भइसकेको देखिँदैन।
मंकीपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो। यसै कारणले पनि यसको नाम मंकीपक्स राखिएको हो। तर मानिसमा भने सन् १९७० मा कंगो देशमा देखिएको थियो। हाल यो भाइरस पश्चिम र मध्य अफ्रिकामा नियमित जस्तो देखिँदै आइरहेको छ। अफ्रिका महादेश बाहिर भने आयातित व्यक्ति अथवा जनावरबाट पुगेको देखिन्छ।
कस्तो हुन्छ मंकीपक्स भाइरसको संक्रमण ?
मंकीपक्स भाइरस कुनै संक्रमित जनावरले टोकेपछि वा संक्रमित जनावरको रगत वा शरीरको तरल पदार्थको सम्पर्कमा आएपछि सर्न सक्छ ।
भनिन्छ यो रोग खासगरी मुसा, खरायो, न्याउरीमुसा आदि जनावरले टोकेका कारण सर्छ । मंकीपक्सबाट संक्रमित जनावरको राम्रोसँग नपाकेको मासु खाँदा पनि यो रोगबाट संक्रमित हुन सकिन्छ । यो भाइरस मानिसमा निकै तीव्र गतिमा फैलन्छ । यो छुवाछुतबाट सर्ने रोग हो । संक्रमित व्यक्तिको कपडा वा खाट प्रयोग गर्दा पनि मंकीपक्स सर्न सक्छ । हाछिउँ गर्दा वा खोक्दा पनि यो भाइरस फैलने सम्भावना हुन्छ।
मंकीपक्सको लक्षण ?
मंकीपक्सबाट संक्रमित भएपछि मानव शरीरमा यसको लक्षण देखा पर्न ५ देखि २१ दिन लाग्न सक्छ । यसको प्रमुख लक्षण ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशीको पीडा, ढाडको पीडा, शरीर काम्ने तथा थकान आदि हो । यी लक्षण अनुभव गरेको एकदेखि पाँच दिनपछि अनुहार तथा शरीरमा पानी फोकाहरु देखापर्न थाल्छन् ।
मंकीपक्सको शंका लागेमा के गर्ने ?
यो बढ्ने क्रमसंगै नेपालमा पनि मंकीपक्स भाइरसको जोखिम बढ्दै गइरहेको छ। तसर्थ, हालै पश्चिम तथा मध्य अफ्रिकामा पुगेको हो अथवा हाल संक्रमण फैलिरहेको देशबाट फर्किएको हो ? शरीरमा बिबिराहरु देखिएको अवस्था भएमा स्वस्थकर्मीको परामर्श लिनु आवश्यक हुन्छ किनभने त्यो मंकीपक्स भाइरसको संक्रमण पनि हुनसक्दछ।