काठमाडौं । एचआईभी संक्रमितको स्वास्थ्य बीमा गर्न समस्या देखिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। सामाजिक विभेदका कारण घर परिवारमा नखुलेका उनीहरुको स्वास्थ्य बीमा गर्न समस्या देखिएको अधिकारीहरुको भनाई रहेको छ।
रिकभरिङ् नेपालले बागमती प्रदेशको चितवनमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संक्रमितहरु विभेदमा परेका कारण वा पर्ने डरेले सम्बन्धित जिल्लाबाट सिफारिस ल्याउन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमबाट बन्चित हुनु परेको गुनासो गरे। कार्यक्रममा सहभागी देव श्रेष्ठले विगतकोभन्दा अहिले केही खुल्न थालेपनि अझै ठूलो संख्यामा लुकेरै बस्न बाध्य भएको बताए।
‘समाजमा समलिङ्गी, तेस्रो लिङ्गीहरु जोखिम बर्गमा छन् श्रेष्ठले भने, ‘अझ संक्रमितलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन समस्या छ।’
घर परिवार बाट टाढा बसेका संक्रमितहरु बीमाका लागि सिफारिस लिन गाउँ जानुपरेको छ, जुन कुरा उनिहरुमा सम्भव देखिएको छैन। यसलाई राज्यले कुनै पनि कोणबाट सम्बोधन गर्नुपर्ने अधिकारीहरुको भनाई छ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो। समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको हो।
चितवन सकृय महिला प्रतिष्ठानकी प्रतिनिधि कोपिला भण्डारीले पनि चितवनमा संक्रमितहरु अझै चरम विभेदमा परेको बताइन्। संस्थाले माइग्रेनमा केन्द्रित भएर काम गर्दै आएको छ। सस्थाले आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुको उपचार खर्च समेत ब्यहोर्दै आएको छ।
तर, कतिपय संक्रमित परिवारको डरले खुल्न नसक्दा यस्ता सस्थाहरुलाई मसेत सेवा दिन निकै कठिन भएको उनले बताईन्। कतिपय संक्रमितहरु परिवारको डरले खुट्टा भाँचिदा समेत ‘काप्रो’ बाधेर घरमा बस्न बाध्य भएका छन् भण्डारीले सुनाईन्। चितवनका अस्पतालहरुमा संक्रमितको उपचारमा समेत अल्झन देखिएको छ।
बिशेषगरी चितवनको आँखा अस्पतालले संक्रमितको उपचार गर्न नमानेका घटनाहरु पनि कार्यक्रममा सहभागीहरुले सुनाएका थिए। रगतको जाँच गर्दा रिर्पोटमा एचआइभी पोजेटिभ देखिनासाथ चिकित्सकले सीधै तिलगंगा आँखा अस्पताल काठमाडौं लैजान भन्छन् यसले गर्दा कयौं संक्रमित बिरामीहरुले उपचार पाउँन सकेका छैनन् । भण्डारीका अनुसार हाल सम्म आँखा अस्पतालले तीनजना संक्रमित बिरामी रिफर गरेको छ। राज्यले यस्ता विषयमा ध्यान नदिने हो भने गंभिर समस्या ल्याउने उनिको भनाई छ।
यता महिला शशक्तिरण चितवन नेपालकी सचिव कमला सिलवालले महिला हिंसामा परेकाहरुको नागरिकता बनाउँन समस्या भएको बताईन्। ुबाउ नभएकाहरु छन् उनिहरुको नागरिकता बनाउन सकिएको छैन हरेक ठाउँमा यसले ठुलो समस्या ल्याएको छु, सिलवालले भनिन्। अहिले ७ जना भन्दा बढी नागरिकताको पर्खाइमा रहेका छन्। कार्यक्रममा सहभागीहरुले एचआइभी कानुन अभावका कारण यस्तो समस्या बढ्दै गएको बताए। समयमा कानुन आएको खण्डमा संक्रमितमाथि हुने विभेदमा कमी आउँने उनीहरुको बुझाइ रहेको छ।