इक्टोपिक प्रिग्नेन्सी
गर्भावस्थामा अर्को ठूलो जोखिम हो ‘इक्टोपिक प्रिग्नेन्सी’ । गर्भ रहनु भनेको पुरुषको शुक्रकिट र महिलाको अण्डको उर्वरीकरण अर्थात् फर्टिलाइजेसन हुनु हो र यो महिलाको अण्डवाहिनी नलीमा हुन्छ ।
फर्टिलाइजेसनपछि बनेको जाइगोट अर्थात् गर्भ पाठेघरमा टाँसिन्छ वा इन्प्लान्ट हुन्छ । त्यसपछि पाठेघरमा भु्रणको रुपमा विकास हुन्छ । तर जाइगोट पाठेघरमा नटाँसिएर अन्य कुनै भागमा, विशेष गरी अण्डबाहिनी नलीमा टाँसिनुलाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । सामान्यतयः यस किसिमको समस्या १ प्रतिशत गर्भमा देखिन सक्छ र यो गम्भीर समस्या हो।
विश्वको अवस्था के छ ?
पछिल्लो समयमा इक्टोपिक प्रिग्नेन्सी बढेको देखिन्छ । एक अध्ययनले अमेरिकामा १.२ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले ९ प्रतिशत गर्भवतीहरुको मृत्यु हुने गरेको देखाएको छ । बेलायतमा १ दशमलव १५ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैको कारणले ४ प्रतिशत गर्भवतीहरुको मृत्यु हुने गरेको देखाएको छ ।नेपालमा १ दशमलव ८ प्रतिशतमा इक्टोपिक प्रिग्नेन्सी भएको देखाएको थियो ।
कसरी पत्ता लगाउने इक्टोपिक प्रिग्नेन्सी
अहिलेको अवस्थामा पनि इक्टोपिक प्रिग्नेन्सी हुनुका कारणहरु सजिलै पत्ता लगाउन सकिँदैन । अधिकांश अवस्थाहरुमा कारण पत्ता लाग्दैनन् । अण्डबाहिनी नलीमा संक्रमण हुनु तथा यसको चाल कम हुनु इक्टोपिक प्रिग्नेन्सीका कारण हुन सक्छ । पछिल्लो समयमा पीआईडी अर्थात अण्डासय, अण्डबाहिनी नली र पाठेघरको संक्रमण हुने क्रम बढ्दो छ । पीआईडी बढेसँगै इक्टोपिक प्रिग्नेन्सी पनि बढ्दै गएको देखिएको छ । त्यसैले पनि पीआईडी इक्टोपिक प्रिग्नेन्सीको प्रमुख कारण हो भन्दा फरक नपर्ला ।
किन हुन्छ ?
महिलाको उमेर बढी हुनु, बाँझोपनको उपचार गरेर रहेको गर्भ, धूमपानको सेवन, धेरै पटक गर्भपतन गराएको तथा पहिले पनि इक्टोपिक भइसकेका महिलाहरुमा इक्टोपिक प्रिग्नेन्सी बढी हुने गरेको देखिए तापनि यसै कारणले मात्र यो हुन्छ भन्न सकिन्न । कुनै समस्या नरहेको महिलाहरुमा पनि इक्टोपिक प्रिग्नेन्सी हुन सक्छ, त्यसैले गर्भ रहेको ६ देखि ८ हप्तामा परीक्षण गर्नु तथा भिडियो एक्सरे गर्नु बुद्धिमानी हुन्छ ।
इक्टोपिक प्रिग्नेन्सी हुनेवित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ भन्ने छैन । तर गर्भ फुटेर आएपछि शल्यक्रियाको विकल्प हुँदैन र समयमा शल्यक्रिया गरेर फुटेको ठाउँबाट हुने रक्तश्राव रोक्न नसके गर्भवतीको मृत्यु निश्चित हुन्छ ।
तर इक्टोपिक प्रिग्नेन्सी अगाडि नै पत्ता लगाउन सकिएको अवस्थाहरुमा औषधिले पनि उपचार सम्भव हुन सक्छ । यस अवस्थामा गर्भवतीलाई भर्ना गरेर, आवश्यक परीक्षणहरु गरेर गर्भ नष्ट हुने औषधि प्रयोग गरिन्छ । जबकी यस अवस्थामा ज्यादै न्युन संख्यामा गर्भवतीहरु आउने गरेको पाइन्छ । अधिकांश इक्टोपिक फुटेर गम्भीर अवस्थामा मात्र अस्पताल आउने गरेको पाइएको छ ।
के देखिन्छन् लक्षण ?
इक्टोपिक प्रिग्नेन्सी रप्चर भएको अवस्थामा अत्याधिक पेट दुख्नु, पेट फुलेको देखिनु, गर्भवती पहेँलो हुँदै जानु वा सिकिस्त विरामी हुँदै जानु थप लक्षणहरु हुन् । इक्टोपिक प्रिग्नेन्सको समयमा उपचार गरे गर्भवतीलाई जोगाउन पनि सकिन्छ र फेरि गर्भधारण गर्न सक्ने पनि हुन सक्छ । इक्टोपिक प्रिग्नेन्सी भएका महिलाले फेरि गर्भधारण गरेको र जुम्ल्याहा बच्चा जन्माएको उदाहरण पनि नेपालमा छ।
कसरी बच्ने ?
त्यसैले इक्टोपिक प्रिग्नेन्सी भयो भन्दैमा आत्तिहाल्नु हुँदैन । बरु हरेक गर्भ इक्टोपिक हुन सक्छ र सम्भव भएसम्म सावधानी अपनाउनु पर्छ।
गर्भको योजना बनाउनु अगाडि नै चिकित्सकसँग परामर्श गर्नु, पीआईडीको उपचार गर्नु, धूमपान नगर्नु जस्ता चलाखीले इक्टोपिक प्रिग्नेन्सी हुनबाट केही हदसम्म बचाउन सक्छ। गर्भ रहेको थाहा पाउनेवित्तिकै नियमित परीक्षणहरु गर्नु तथा ६ देखि ८ हप्ताभित्र अल्ट्रासाउण्ड अर्थात् भिडियो एक्सरे गर्नाले इक्टोपिक प्रिग्नेन्सीको जटिलताबाट बचाउन सकिन्छ।