रोल्पा । रोल्पाको होलेरी स्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको छ। स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा महिना दिन देखि बिरामीहरु मर्कामा पर्दै आएका छन् ।
स्वास्थ्य केन्द्रमा डाक्टर नहुदा गुणस्तरीय स्वास्थ्य सेवाका लागि बिरामीहरु बाहिर जिल्लामा गई महँगो र खर्चिलो स्वास्थ्य सेवा लिन बाध्य भएको बिरामीहरुको गुनासो रहेको छ।
स्वास्थ्य केन्द्रमा डाक्टरको पद पूर्तिका लागि सरोकारवाला निकायले कुनै चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ ।
स्थानीयका अनुसार स्थानीय सरकार, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय समेतले कुनै चासो नदेखाएको गुनासो गर्दै आएका छन ।
समस्याका बारेमा जिज्ञासा राख्दा रुन्टिगढि गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष जनक पुनले आफूलाइ उक्त समस्याका बारेमा जानकारी आएको र आफुले केहि दिन अघि मात्र पदभार ग्रहण गरेकाले समस्या समाधान तर्फ पहल गर्न शुरु गरेको बताए ।
उता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख चन्द्र पन्थीका अनुसार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले करारमा पठाएका डाक्टरहरु दुर्गममा जान नमान्ने र पहुँचका भरमा रुपन्देही, दाङ जस्ता सुगम जिल्लामा मात्र काम गर्न इच्छुक हुने प्रवृत्तिका कारण दुर्गमका धेरै स्वास्थ्य संस्थाहरु डाक्टरविहीन भएको बताए ।
स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर बिशाल कुवर एक महिना अगाडि सरुवा भइ जिल्ला बाहिर गएपछि स्वास्थ्य केन्द्र सि अहेवको भरमा चल्दै आएको स्वास्थ्य केन्द्रले बताएको छ।
१५ शैयाको स्वास्थ्य केन्द्रमा रुन्टिगढि गाउँपालिकाका अलावा छिमेकी गाउँपालिका र छिमेकी जिल्लाका बिरामीहरु समेत स्वास्थ्य उपचारका लागी आउने गरेको स्वास्थ्य केन्द्रले बताएको छ ।