काठमाडौं । २७ वर्षदेखि बाल उपचारको क्षेत्रमा निरन्तर रुपमा सस्तो,सुलभ तथा विश्वनीय सेवा दिदैं आएको इशान बाल तथा महिला अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेसँगै ५० शैय्यालाई बढाएर १०० शैय्याबाट उपचार दिदैं आएको छ ।
नयाँ भवन बालबालिकाका लागि वातावरणमैत्री रहेको अस्पतालका निर्देशक वरिष्ठ बाल शल्य चिकित्सक प्रा.डा.रामनन्द प्रसाद चौधरीले जानकारी दिए।अस्पतालले बाल र महिला तथा प्रसुती सम्बन्धी आकस्मिक सेवा दिदैँ एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसी सेवा प्रदान गर्नुको साथै विशेषज्ञ चिकित्सकहरुबाट ओपिडि सेवा बिहान सात बजेदेखि साँझ ८ बजेसम्म दिइदै आएको उनको भनाइ छ।
अस्पतालले सेवा विस्तारसँगै जनशक्तिको ४० प्रतिशत बढाएको छ । अस्पतालले ब्लड बैंक सेवा, एमआरआई सेवा, सिटी सेवा, निसन्तान दम्पतिका लागि आइभीएफ सेवा, पेनलेस प्रसुति सेवा, आँखा,नाक, कान तथा घाँटीसम्बन्धी र फिजियोथेरापी सेवा, पिआई सियू,एनआईसियु, बाल ल्याप्रोस्कोपी सेवा समेत दिने डा.चौधरीले बताए । अत्याधुनिक भवनबाट सेवा सुरु गरिएको भएतापनि शुल्क भने मध्यमवर्गीय व्यक्तिहरुलाई मध्यनजर गरी राखिएको डा.चौधरीको दाबी छ । अस्पतालले बालबालिका लागि खेल्ने ठाउँको समेत व्यवस्था गरेको छ ।
अस्पतालले स्तरीय तथा प्रभावकारी सेवाका लागि कार्यरत्त जनशक्तिहरुलाई विभिन्न प्रकारका तालिमहरु पनि दिदैं आएको छ । नयाँ भवनबाट सेवा दिएसँगै बिरामीको संख्या पनि उल्लेख्य रुपमा बढेको डा.चौधरी बताउँछन् । जनरल बेड शुल्कमा परिवर्तन नभए पनि क्याबिन बेडमा भने सामान्य हेरफेर भएको छ ।
टोखा नगरपालिका–५ को श्रीटोलमा अवस्थित इशान अस्पतालको नयाँ भवन पुरानो भवनबाट ३ सय मिटरको दुरीमा उत्तरतर्फ रहेको छ । ६० करोड बढी लागतमा बनेको नयाँ भवनमा अन्डरग्राउण्ड तीन तला र माथि ५ तला रहेका छन् ।