काठमाडौं - हाल विश्व नै कोरोना भाइरस संक्रमणले थलिएको छ । यसलाई नियन्त्रण गर्नु विश्वकै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । लगातार बढ्दै गएको संक्रमणका कारण विभिन्न मुलकको स्वास्थ्य अर्थतन्त्र लगायतका सबै बिषयमा प्रभाव पारेको छ ।
कोरोना भाइरसले विशेषत स्वास्थ क्षेत्रमा गहिरो असर पुऱ्याएको छ । पछिल्लो समय नेपालमा संक्रमण फैलने क्रममा तिब्रता आएको छ । नेपालका कतिपय अस्पतालहरुमा बेड खाली नभएका समाचारहरु सार्वजनिक भैइरहेका छन् भने अक्सीजनको अभावका कारण विस्तारै मृत्युदर समेत बढ्न थालेको छ ।
विभिन्न स्थानहरुमा संक्रमण पुष्टिको बारेमा कोरोना परीक्षण पनि हुन पनि सकस हुन थालेको समाचारहरु बाहिरिएका छन् । यस्तै, अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिसहरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएका छन्। विशेषज्ञका अनुसार, यस प्रकारको उपायबाट आफ्नो स्वास्थ्य र शरीरमा अक्सीजनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।
के हो ६ मिनेटको परीक्षण प्रकृया ?
विशेषज्ञका अनुसार, कोरोनाको दोस्रो लहरमा मानिसहरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ । परीक्षणको अभावमा धेरै मानिसहरुलाई संक्रमण भएको धेरै समयसम्म पनि थाहा हुँदैन र अचानक उनीहरुलाई समस्या भएको महसुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सीमीटरको उपयोग गर्दै शरीरमा अक्सीजन सेचुरेशनको परीक्षण गरिरहनु पर्छ ।
६ मिनेटमा गरिने यो परीक्षण कस्तो छ ?
विशेषज्ञका अनुसार, जुन मानिसलाई कोरोनाको लक्षण महसुस भइरहेको छ, त्यस्ता व्यक्तिले प्रारम्भिक स्वास्थ परीक्षण आफ्नो घरमा नै गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिला अक्सीमीटरको प्रयोगले सेचुरेशन हेर्नु पर्छ । त्यसपछि ६ मिनेटसम्म नरोकिकन सामान्य गतिमा हिंड्नु पर्छ ।
६ मिनेटपछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति सावधान हुनुपर्छ । उदाहरणका लागि पहिलो परीक्षमा अक्सीमीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्षणमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ ।
यसले फोक्सोको समस्या र शरीरमा अक्सीजनको कमीको संकेत दिएको हुन सक्छ । त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्षण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।
कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?
बिज्ञका अनुसार, आस्थमा (दम) भएको व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन । त्यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यो परीक्षण गर्न सक्छन् ।
यो परीक्षणको माध्यमबाट अक्सीजनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्पतालमा भर्ना गर्न सहयोग पुग्छ ।
अक्सीजनको स्तर बढाउने उपाय
विशेषज्ञका अनुसार, यदि कुनै विरामीलाई फोक्सोमा समस्या देखिएको छ र उसलाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपायलाई प्रयोगमा ल्याउन सकिन्छ ।
त्यस्ता विरामीलाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ । यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीजनको स्तरमा सुधार हुन्छ ।