काठमाडौं । टाइप २ डायबिटीजले सबै उमेर समूहका मानिसहरूलाई असर गर्ने गर्छ । शरीरमा इन्सुलिन हर्मोनको कमिका कारण वा इन्सुलिन उत्पादन हुने कोष (बिटा सेल) नष्ट हुँदा रगतमा चिनिको मात्रा बढ्छ, जसकारण मधुमेह हुने गर्छ ।
टाइप २ मधुमेहले पुरुष र महिलालाई फरक तरिकाले असर पार्ने हुन्छ । अध्ययनले देखाएअनुसार महिलाहरूको तुलनामा पुरुषहरूलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । पुरुषहरूमा हुने एन्ड्रोजन हर्मोन टेस्टोस्टेरोनको कारणले मधुमेह हुने सम्भावना बढाउने हुन्छ ।
उक्त हार्मोनले शरीरमा बोसो (भिसरल फ्याट) बढाउने कार्यसँग जोडिएको हुन्छ । मधुमेहलाई बुझ्नका लागि गरिएका धेरै अध्ययनहरूले भिसरल फ्याट प्रत्यक्ष रूपमा टाइप–२ मधुमेहको विकाससँग जोडिएको देखाएको छ । जसकारण पुरुषहरूमा मधुमेह दीर्घकालीन रूपमा विकास हुने सम्भावना बढी हुन्छ ।
रगतमा चिनीको स्तरमा भएको वृद्धिले शरीरलाई एकभन्दा बढी तरीकामा असर पुर्याउने हुन्छ । टाइप २ मधुमेह हुदा सामान्यता तिर्खा लाग्ने, पटक–पटक पिसाब लाग्ने, थकान, चक्कर आउने तथा तौल घट्नेजस्ता लक्षणहरू देखाउन सक्छ । यी सामान्य लक्षणहरू हुन्, जुन पुरुष र महिलामा मधुमेह विकास भएका दुवैमा देखिने हुन्छ ।
यसबाहेक, पुरुषहरूमा मांसपेशी घट्ने र जेनिटल थ्रस हुने हुन्छ । महिला प्रायःजसो यिस्टको सङ्क्रमण, पिसाब तथा मुत्रनलीको सङ्क्रमण र पोलिसिस्टिक ओभेरियन सिन्ड्रोमको समस्या देखिन सक्छ । शरीरमा चिनीको मात्रालाई समयमा नियन्त्रण नगरेमा टाइप २ मधुमेहले न्यूरोप्याथी, रेटिनोप्याथी, हृदय रोग र मिर्गौलाको रोग निम्त्याउँन सक्नुका साथै शरीरको कुनै भाग काटेर फाल्नुपर्ने स्थितिसमेत आउन सक्छ ।
पुरुषहरूमा टाइप २ मधुमेह हुने खतरा बढी हुन्छ, तर गम्भीर जटिलताहरू हुने सम्भावना भने महिलाहरूमा बढी हुने हुन्छ । एक पटक महिलामा टाइप २ मधुमेह विकसित भएपछि मुटुको रोग, मिर्गौला रोग, स्ट्रोक, एन्जाइटी तथा डिप्रेसनजस्ता स्वास्थ्य जटिलता बढ्ने सम्भावना बढी हुन्छ ।