काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।
यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको थियो । कार्यक्रम सुरु भएयता हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ।
आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना र चालु आर्थिक २०७८/७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ।