काठमाडौं - १५ पुसमा चीनको वुहानमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखियो । नेपालमा पनि देखिने त होइन ? मनमनै त्रसित हुन्थें । एक महिना अघि मेरो दिनचर्या भनेकै कोरोना भाइरसकै विषयमा रिपोर्टिङ हुन्थ्यो । त्रसित मनलाई राहतकालागि भाइलाई सोध्थें । हलुका ढंगले उ बोल्थ्यो, ‘बी पोजेटिभ दिदी !’
त्रिभुवन विश्वविद्यालयले लिने आमसंञ्चार विषयको स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा नजिकिरहेको थियो । उता कोरोना भाइरस चीनबाट बाहिर अन्य मुलुकतर्फ यात्रा गर्न थालिसकेको थियो । कोरोना भाइरसको जोखिमका खबरहरु आफैले लेखिरहेकी थिएँ । ९ चैतबाट परीक्षाको शुरु हुने निर्धारित कार्यक्रम थियो ।
बिहान ८ बजे खाना खाएर महिला स्वास्थ्य अनलाईनको कार्यालयमा जाने र सामुहिक छलफल पछि समाचार तयार पार्नु मेरो कर्म थियो । दिनभरि कोरोना भाइरस लगायत स्वास्थ्य सम्बन्धी अन्य समाचार/फिचरहरु लेखेर पोष्ट गर्दा मस्तिष्कले थकान महसुस गथ्र्यो ।
साँझ घर फर्केर खाना खाएपछि निद्राले ढलाउँथ्यो । थकित मस्तिष्कमा पढ्न मन लाग्दैनथ्यो । परीक्षाको तयारी थिएन । भोली विहान सबेरै उठ्ने अठोटका साथ सिरक तानेर सुत्थें ।
भोलीपल्ट विहान ८ बज्दा आँखा खुल्थ्यो । सुत्नेबेला गरेको अठोट उठ्ने बेला कार्यान्वयन गर्न नसकेको महसुस हुन्थ्यो । एउटै उपाय थियो, ‘साथीहरुसँग मिलेर सामुहिक पढ्ने ।’ अन्ततः कोरोना भाइरसको सम्भावित जोखिमकै कारण परीक्षा स्थगित भयो । यसले एकातिर खुशी त दियो, अर्को तर्फ कोरोनाको आतंकले त्रास बढायो । जुन त्रासको ग्राफ अहिले झन बढिरहेको छ ।
जीवनको परीक्षा
पाँच वर्षहुँदा देखि नै पाठयक्रममा आधारित परीक्षा दिंदै आएकी थिएँ । तर अहिले म लगायत विश्व समुदाय जीवनको परीक्षामा सामेल हुन बाध्य छन । १० दिन अघि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भर्खरै डिस्चार्ज भएका छन ।
सघन उपचार कक्ष (आइसीयु)मा रहेर उपचाररत जोन्सनलाई यस बीचमा धेरै पटक सम्झिरहें । उनको नजिक को व्यक्ति गएर हाच्छिउँ गरे होला ? कसले गएर खोक्यो होला ? कसरी सरेको होला कोरोना भाइरस ? जे होस , जीवनको परीक्षामा सामेल भएका प्रधानमन्त्री जोन्सन तँग्रिए । धेरैका लागि कोरोना भाइरस विरुद्ध लडने हिम्मत जुटाइदिए ।
अमेरिकाका नागरिकहरु अहिले कोरोना विरुद्ध जुधिरहेका छन । यो आलेख तयार पार्दासम्म २३ हजार ६ सय ४४ जना कोरोना भाइरस सामु आत्मसमर्पण गरे । अमेरिकाको एक अखबारको ११ वटा पेजमा मृतकहरुको सम्झनामा शोक सन्देश नै छापियो । अमेरिकी पत्रकार जुलियो रिकार्डोले उक्त अखबारको एक तश्वीर सोसल मिडियामा सार्वजनिक गरेका छन ।
झण्डै साढे तीन महिनाको यो अवधिमा १९ लाख ३४ हजार बढि कोरोना भाइरस संक्रमित भए । जसमध्ये १ लाख २० हजार बढिले मृत्युवरण गरे । ४ लाख ५६ हजार भन्दा बढि कोरोना भाइरस विरुद्ध लडे । अन्ततः जीवन जीउने परीक्षामा सफल भए ।
नेपालमा पनि १६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन । अस्पतालमा उपचाररत एक दर्जन बढि छन । निको भएर जीवन जीउने यो कठिन परीक्षामा सफलता हासिल होस भन्ने कामना गर्छु ।
गायिका तारादेवीको स्वरमा सजिएको एउटा गीत छ,
सोंचे जस्तो हुन्न जीवन ।
सम्झे जस्तो हुन्न जीवन ।।
जस्तो भोग्यो उस्तै हुन्छ ।
देखेजस्तो हुन्न जीवन ।।
लक डाउनमा काठमाडौंको परिवेश हेर्दा यस गीतका हरेक शब्दले मन छुन्छ । जो कोहिको जीवनसँग मेल खाएजस्तो लाग्छ । कोहि भोकभोकै छन । पीरहरु बटुलेर रोइरहेका छन । काठमाडौंबाट कोसौं टाढा रहेको घरमा बालबच्चा सम्झेर आँशु बगाउँदै यात्रा गरिरहेका छन । खुशी खुशी पनि हुँदो रहेनछ, जीवन । वास्तवमै भन्नुपर्दा जस्तो भोग्यो उस्तै हुने रहेछ, जीवन । आफनो दिनचर्या सम्झँदा पनि यस्तै यस्तै अनुभूति भइरहेको छ । कोठाभित्र कैद भएर दिनरात विताइरहनु परेको छ । लक डाउनका कारण एक्लिनुपरेको तीन साता भइसक्यो । अझैं कति दिन बस्नु पर्ने हो, यकिन छैन । परिवारको यादमा मन तडपिरहेको छ ।
यो व्याकुल मनलाई सम्झाउँ कसरी ?
अभिभावकको माया
११ चैतमा सरकारले कोरोना भाइरसको सम्भावित जोखिमका कारण लक डाउन (बन्दाबन्दी ) घोषणा गर्यो । मुलुकमा पहिलो पटक घोषणा भएको लक डाउनलाई गम्भीरतापूर्वक लिइन ।
लक डाउन अघि हप्तामा सधै घरमा अभिभावकसँग कुरा हुन्थ्यो । लक डाउन भएसँगै बिहान बेलुका घरबाट फोन आउँछ । उहाँहरुको आवाजमा चिन्ता पाउँछु । हरेक पटकको फोनमा अनुत्तरित प्रश्न तेर्सिन्छ, ‘तँ किन आइनस ?’ यस प्रश्नको गतिलो जवाफ म सँग छैन । यहिं विवादमा काटिन्छ, फोन । लक डाउनले सवारी साधन ठप्प छ । घरमा उडिजाउँ भने म पन्छि होइन । तर, काठमाडौंको डेरामा बस्ने कत्ति पनि मन छैन ।